स्वच्छ नेपाल अभियान संचालन गर्ने सरकारको तयारी
मीरा साउँद,
काठमाडौं । सरकारले स्वच्छ नेपाल अभियान संचालन गर्ने तयारी गरेको छ । आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो कुरा उल्लेख गरिएको छ ।
प्रदेश र स्थानीय तहको सहभागितामा काठमाडौं उपत्यका, महानगरहरु र प्रदेश राजधानीहरुलाई हरित सहरमा रुपान्तरण गर्न सहरी वृक्षारोपणलाई व्यापक बनाइने पनि जनाइएको छ ।
यस्तै सरकारले फोहोरमैला प्रशोधनमा आधुनिक प्रविधि प्रयोग गर्ने र राजमार्गको निश्चित दूरीमा खानेपानी, शौचालय अन्य सुविधासहितको सेवा केन्द्र संचालन गर्न प्रोत्साहित गर्ने जनाएको छ ।
साथै सरकारले आगामी वर्ष देशका मुख्य सहरहरुमा वायु, ध्वनि, जल प्रदुषण नियन्त्रणको क्षेत्रगत कार्ययोजना तथा मापदण्ड कार्यान्वयन गरिने जनाएको छ । प्रदेश तथा स्थानीय तहमा नमुना जलवायु परिवर्तन अनुकूलन कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरिने पनि सरकारको तयारी छ ।
पानीको मुख्य स्रोतको रुपमा रहेको हिमालय संरक्षणका लागि विशेष कार्यक्रम संचालन गरिने छ । हिमताल र हिमनदीको संरक्षण गरि जल उत्पन्न प्रकोप नियन्त्रण र नदी प्रणाली लगायत जलस्रोतको संरक्षण गरिने छ ।
हिमालको सरसफाइ कार्यलाई निरन्तरता दिइने छ । जैविक विविधताको संरक्षण एवम् प्रर्वद्धनको कार्यक्रम संचालन गरिने छ । वातावरण र विकासबिच सन्तुलन कायम गरि विकास कार्यक्रम तथा आयोजना संचालन गरिने छ ।

प्रतिक्रिया