मंगलबार, असार १०, २०८२

भण्डारीको जीवन सबै नेपालीका लागि प्रेरणा हो : अध्यक्षद्वय ओली

नेपालखोज २०७७ जेठ ३ गते १२:३६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जननेता मदन भण्डारीको आँधीमय जीवन हामी सबैका लागि प्रेरणाको विषय रहेको बताएका छन् ।

आज २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा वक्तव्य जारी गर्दै अध्यक्षद्धयले जननेता भण्डारी एक स्वतन्त्र सर्वेक्षणका आधारमा नेपालका बीसौं शताब्दीकै सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित भएको र भण्डारीले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान गरेको जनाएका छन् ।

जेठ तीन अर्थात् आजकै दिन जननेता भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गमा भएको रहस्यमय जिप दुर्घटनामा मृत्यु भएको थियो । यी दुई लोकप्रिय नेताहरूकोे रहस्यमय दासढुंगा जीप दूर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ ।

तर, घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन । जारी वक्तव्यमा रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया