सेनाका पृतनापति पुगेको गणमा पनि आरडीटीको तयारी

नेपालखोज २०७७ जेठ ४ गते १३:२५

काठमाडौँ । कोरोना भाइरस संक्रमति नेपाली सेनाको मध्यपूर्वी पृतनापति पुगेको दोलखामा पनि आरडीटीको तयारी थालिएको छ।

सदरमुकाम चरिकोटस्थित तारादल गणले दुई साताअघि आयोजना गरेको कोरोना भाइरसबाट मृत्यु भएमा उद्धारदेखि दाहसंस्कारसम्म गरिने प्रक्रियाको अभ्यासको निरीक्षण गर्न पृतनापति त्यहाँ पुगेका थिए।

उनको सम्पर्कमा आएकाहरुको आरडीटीको तयारी थालिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। ‘अहिले २ बजे सेनाको कर्नेलसहितको बैठक बस्दै छ। त्यसपछि क–कसको आरडीटी गर्ने भन्ने यकिन हुन्छ’, शर्माले भने।

तारादल गणले अभ्यास कार्यमा सीमित मात्रलाई अतिथि बनाएको प्रमुख जिल्ला अधिकाी शर्माले बताए। अभ्यास कार्यको निरीक्षण गर्न दोलखा पुगेका पृतनापति दुई दिनसम्म त्यहाँ बसेको खुलेको छ।

अभ्यास कार्यमा संलग्न सैनिकका साथै निरीक्षणमा पुगेका प्रशासक, प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी सबैको आरडीटी गर्नुपर्ने अवस्था आएको शर्माले जानकारी दिए। अभ्यास कार्यमा एक सयभन्दा बढीको उपस्थिति थियो।

प्रतिक्रिया