सरकारलाई भवानी राणाको यस्तो चेतावनी
टंककला तिमिल्सेना,
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की अध्यक्ष भवानी राणाले सरकारले निजी क्षेत्रकालागि विशेष प्याकेज ल्याउनु पर्ने माग गरेकी छिन् । एफएनसीसीआईले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् । उनले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रममा निजी क्षेत्रको माग सम्बोधन नगरे सम्पूर्ण उद्योगधन्दा बन्द गर्ने चेतावनी पनि दिएकी छिन्।
कोरोना भाइरसको महामारिका कारण देश लकडाउनमा रहँदा नेपालका सबै उद्योगव्यवसाय ठप्प भइ निजी क्षेत्र अति प्रभावित छ, उनले भनिन् ।
अन्य देशले अर्थतन्त्र बचाउन खर्बौंको आर्थिक प्याकेज घोषणा गरिसके पनि नेपालमा भने राहत प्याकेज घोषणा नभएको भन्दै आक्रोश पोखिन्।
अध्यक्ष राणाले अर्थतन्त्रलाई थप क्षति हुन नदिन निजी क्षेत्रले सरकारलाई विभिन्न सुझाव दिइरहेको तर सरकारले सुनुवाइ नगरेको बताइन्।
राणाले सरकारले आगामी बजेटमा ३ वर्षसम्मका लागि बैंकको ब्याज ५ प्रतिशत कायम गनुपर्ने, घाटामा गएको उद्योगका लागि ५ वर्ष वाच लिस्टमा राख्नुपर्ने, बैंकले लिने सेवा र नवीकरण शुल्क खारेज गर्नुपर्ने, बिजुलीमा लाग्ने हर्जाना हटाउनुपर्ने माग गरिन्। उनले साथै लडकाउनमा भएको विद्युत्को डिमान्ड शुल्क खारेज गर्न र २ वर्षसम्म विद्युतमा ४ प्रतिशत छुट हुनुपर्ने माग गरिन्।
भ्याटलाई १३ बाट १० प्रतिशतमा झार्नुपर्ने, व्यक्तिगत आयकरमा २० प्रतिशतसम्म छुट हुनुपर्ने, कर्पोरेट आयकर १० प्रतिशतसम्म घटाउनुपर्ने माग उनको छ।

प्रतिक्रिया