सराङकोटमा एक घर एक धारा जडान
पोखरा । पोखरा महानगरपालिका–१८ सराङकोटमा एक घर एक धारा जडान गरिएको छ । यहाँको सबैभन्दा ठूलो बूढीमुल लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएर ३६६ घरधुरीमा धारा जडान गरिएको हो ।
सूर्योदय, सूर्यास्त तथा हिमशृङ्खला र तालतलैयाको दृश्यावलोकन र प्याराग्लाइडिङको प्रमुख गन्तव्यमा विकास भए पनि खानेपानीको अभाव हुँदा पर्यटकलाई समेत असुविधा भएको अवस्थामा घरघरमा धारा जडान भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
पानीको स्रोत रहेको बूढीमुलको मुहानबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर एक हजार ७०० मिटर उचाइको सराङकोट चुचुरोमा ‘रिजर्भ वायर ट्याङ्की’ र वितरण ‘च्याम्बर’ मार्फत सबैको घरमा धारा पु¥याइएको छ ।
आयोजना सम्पन्न भएपछि सौदाको चौतारा, पँदेलीटोल, सुन्दरपोखरी टोल, देउराली पाटन, सीमताल र सराङकोट टोलका स्थानीयवासी पूर्ण लाभान्वित भएको र गोठादीका समेत केही घरधुरीमा समेत धारा पुगेको खानेपानी आयोजनाका अध्यक्ष पुष्कलबहादुर थापाले बताए ।
खानेपानीको अभाव हटाउन विसं २०७३ देखि आयोजनाको केही काम शुरु भएकामा बजेट अभावले आशातित गति लिन नसकेकामा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि विसं २०७५ मङ्सिर १ गतेबाट आयोजना निर्माणले तीव्रता लिएको अध्यक्ष थापाले बताए ।
“आयोजना सम्पन्न भएसँगै यहाँका स्थानीय हर्षित हुनुभएको छ । एक गाग्रीको पानीका लागि घण्टौँ खर्चिनुपर्ने बाध्यता हटेको र सबै घरधुरीमा पर्याप्त पानी आपूर्ति शुरु भएको छ”, आयोजनाका अध्यक्ष थापाले भने ।
चारवटा लिफ्टिङ मेसिनको प्रयोगबाट मुहान नजिक ५० हजार लिटर क्षमताको रिजर्भ वायर ट्याङ्की निर्माण गरिएको छ ।त्यसैगरी चुचुरोमा ५० हजार लिटर क्षमता तीन वटा रिजर्भ वायर ट्याङ्की र एउटा वितरण ट्याङ्की र दुई ३० हजार लिटर क्षमता वितरण ट्याङ्की निर्माण गरिएको समितिका सहसचिव बलराम तिमिल्सिनाले बताउनुभयो ।
बूढीमुल खानेपानी योजनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष विसं २०७५र७६ मा रु ९९ लाख ७० हजार तथा चालू आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो । त्यसैगरी पोखरा महानगरपालिकाले समेत गत वर्ष रु १७ लाख बजेट विनियोजन गरेको बताइन्छ ।
आयोजनाले घरधुरीबाट रु १० हजार रकम लिएर धारा जडान गरेको र अतिविपन्न ११ घरधुरी र विद्यालयलगायत सङ्घसंस्था गरी १८ वटालाई निःशुल्क जडान गरिएको तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया