मंगलबार, असार १७, २०८२

हलेसी तुवाचुङ नगरपालिका अनिश्चितकालीन बन्द

नेपालखोज २०७७ जेठ ६ गते १५:५२

खोटाङ । एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ ।

काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै आजदेखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको हो ।

एक युवकमा कोरोना भाइरसको सङ्क्रमण फेला परेसँगै नगरपालिका प्रवेश गर्न र नगरपालिकाबाट बाहिरिन पूर्णरुपमा रोक लगाइएको नगरप्रमुख इवन राईले बताए ।

“युवकमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन उनको गाउँसँगै जोडिएको हलेसी बजारलाई समेत पूर्णरुपमा सिल गरिएको छ”, उनले भने, “यसअघिसम्म अत्यावश्यक सामग्री किनमेलका लागि बिहान र बेलुका खुला गर्ने गरिएको हलेसी बजारसमेत आजदेखि पूर्णरुपमा ठप्प पारिएको छ ।”

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको जनाइएको छ । सङ्क्रमित युवकको घरलाई सोमबार साँझदेखि नै पूर्णरूपमा सिल गरिएको नगरप्रमुख राईले बताए ।

कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न नगरपालिकाबाट धरान पठाइएका ३३ जनाको स्वाबमध्ये सोमबार साँझ उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो ।

काठमाडौँमा बसिरहेको अवस्थामा बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बा४ख २२११ नंको बसमार्फत गाउँ आएका थिए ।

प्रतिक्रिया