मंगलबार, असार १०, २०८२

विवादित विषयमा सेनापतिलाई जवाफ दिन लगाउनु गलत हुन्छ : प्रधानमन्त्री

नेपालखोज २०७७ जेठ ६ गते १८:२६

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे कुनै पनि देशले आफ्नो सेनापतिलाई बोल्न लगाउनु उपयुक्त नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफपछि थप स्पष्टीकरणका क्रममा भारतका सेनापतिले नेपालको लिपुलेकबारे दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूहरु काम र उद्देश्यमा स्पष्ट भएकाले सेनापतिलाई जवाफ दिइरहन लगाउन आवश्यक नभएको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले दुई देशका मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समयसमयमा कूटनीतिक संयन्त्रका माध्यमबाट पुनः कुरा गर्ने समझदारी भएकामा हाल केही विलम्ब भएको र सम्बन्धित अन्य तहले कुरा गरेपछि अन्तिममा प्रधानमन्त्रीको तहमा संवाद हुने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले भने, “नेपाल विश्व इतिहासमै गुलाम नभएको मध्येको एक राष्ट्र हो । हामी बरु ज्यानको बाजी थापेर लड्न तयार हुन्छौँ तर झुक्दैनौँ । हाम्रो अतिक्रमित भूमि हामी फिर्ता लिएरै छाड्छौँ । त्यसमा हामी सफलता प्राप्त गर्नेछौँँ । सरकारको कार्यकालको आगामी तीन वर्षभित्र ती नेपाली भूमि फिर्ता ल्याइनेछ ।”

स्वास्थ्य सामग्री खरीद विवादमा सोधिएका प्रश्नमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो कटिबद्धता रहेको दोहो¥याउँदै आफ्नो निजी सम्पत्ति ट्रष्टलाई हस्तान्तरणको घोषणा गरिसकेकाले आफूलाई कुनै लोभ नभएको स्पष्ट गरे ।

प्रतिक्रिया