संक्रमित बसेकै क्वारेन्टाइनमा छैन परीक्षण
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा संयोजक उमेश गुप्ता केही दिनदेखि सदरमुकामस्थित बुद्धपद्म माविको क्वारेन्टाइनमा जानै छाडेका छन् । ‘कोरोना संक्रमण होला भनेर नगएको होइन,’ उनले भने, ‘स्वाब परीक्षण नगरेको भन्दै ढुंगा नै हिर्काउन खोज्छन् । झगडा गर्नुभन्दा नजानु नै ठीक लाग्यो ।’
५८ जना रहेको उक्त क्वारेन्टाइनमा अधिकांशको बसाइ २१ दिन पुगिसकेको छ । पीसीआर परीक्षण नहुँदा घर जान पाएका छैनन् । उनीहरूले छिटो परीक्षण गर्न दबाब दिइरहेका छन् । तर, स्वाब संकलन गर्न भीटीएम अभाव छ । आरडीटी किट पनि छैन । ‘स्वास्थ्य कार्यालयलाई भन्दाभन्दै थाकिसक्यौं,’ गुप्ताले भने, ‘हाम्रो कुरा सुनुवाइ नै हुँदैन ।’
सदरमुकामकै महेन्द्र प्राविमा २६ जना थिए । तीमध्ये एक जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट क्वारेन्टाइनमा रहेका ६ जना हेलमेल भएको खुलेको छ । उक्त विद्यालयमा बसिरहेकाले २० दिन पूरा गरिसकेका छन् । त्यहाँ पहिलोपटक स्वाब परीक्षण भएको १० दिन भइसक्यो । त्यसपछि स्वाब संकलन गरिएको छैन ।
कपिलवस्तु नगरपालिकाका विभिन्न वडाका ९ जना संक्रमित छन् । ‘मेरो पीसीआर रिपोर्ट नेगेटिभ आए पनि क्वारेन्टाइनमै राखिएको छ,’ उक्त क्वारेन्टाइनमा रहेका कपिलवस्तु–२, रमतलहाका पुजारी रैदासले भने, ‘फेरि परीक्षण गर्नुपर्छ भन्छन् ।’ दुई साता बितिसके पनि परीक्षण नभएपछि उनी आक्रोशित छन् । ‘कहिले घर जान पाइने हो, टुंगो छैन,’ उनले भने, ‘परीक्षणमा चरम लापरबाही छ ।’ यो खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया