ज्यान मुद्दा लागेका पाल्पाका वडाध्यक्ष धरौटी छुटे
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३ का वडा अध्यक्ष दीपक थापा धरौटीमा छुटेका छन् । सवारी ज्यान मुद्दामा उनी १ लाख १० हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला अदालत पाल्पाका सूचना अधिकारी भेषराज खनालले बताए ।
उनका अनुसार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलाशले थुनछेक बहसमा उक्त रकम धरौटी तोकेको थियो ।
तोकिएको रकम बुझाएर थापा बुधबार छुटेका हुन् । २०७५ साल जेठ २२ गते वडा अध्यक्ष थापाको नाममा रहेको लु ३ त १९५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक १९ वर्षीय जीवन कुमालको मृत्यु भएको थियो ।
मृतक कुमालले सवारी अनुमतिपत्र समेत प्राप्त गरेका थिएनन् । सवारी पास नभएको व्यक्तिलाई सवारी चलाउन दिइ कुनै दुर्घटना भई कसैको ज्यान गएमा सवारी धनी घट्नाको मतियार बन्ने कानुनमा उल्लेख रहेको खनालले स्पष्ट पारे ।
सवारी तथा यातायात व्यावस्था ऐन २०४९ को दफा ४६ र सोही ऐनको दफा १६१ (५) को कसुरमा सोही ऐनको दफा १६१ (५) नं. को सजाय माग गर्दै पीडित पक्षले थापा विरूद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
घट्नाबारे थप अनुसन्धानको लागि उनलाई प्रहरीले दुई दिन हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।
प्रतिक्रिया