शुक्रबार, चैत १६, २०८०

कोरोना : एकै दिन एक लाखभन्दा बढीमा संक्रमण, डब्लुएचओ भन्छ महामारी अनिश्चित

नेपालखोज २०७७ जेठ ८ गते १४:३६

काठमाडौँ । विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ ।

२४ घण्टामा विश्वका एक लाख ६ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित बनेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
यसैबीच, डब्लुएचओले कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको भन्दै महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

बुधबार थपिएका १ लाख ६ हजार संक्रमितमा झण्डै दुई तिहाई केस चार देशका मात्रै रहेको उनले बताए । कोरोना भाइरसका कारण विश्वभर आधा करोडभन्दा बढी जनसंख्या संक्रमित भैसकेका छन् भने हालसम्म विश्वभर तीन लाख २९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा करिब १६ लाख व्यक्ति संक्रमित हुँदा ९५ हजार व्यक्तिको मृत्यु भएको छ । रुसमा तीन लाख ८ हजार तथा ब्राजिलमा दुई लाख ९३ हजारभन्दा बढी संक्रमित छन् ।

यसैबीच डब्लुएचओको आपतकालीन निर्देशक डा. माइक रायनले कोरोना भाइरसविरुद्धको उपचारमा मलेरियाको औषधि क्लोरोक्वीन र हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगप्रति सचेत गराएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसबाट जोगिन हाइड्रोक्सिक्लोरोक्वीन लिएको बताएकै बेला डा. रायनले औषधिको प्रभावकारिता प्रमाणित नभएकाले प्रयोग नगर्न भनेका हुन् । – एजेन्सी

प्रतिक्रिया