बिहीबार, वैशाख १३, २०८१

लाईनमा बलिउड फिल्म

नेपालखोज २०७९ चैत २ गते १४:५७

काठमाडाैं । हिन्दी फिल्म उद्योगले वर्ष २०२३ बाट धेरै अपेक्षा गरेको छ । आशा छ यो वर्ष चलचित्रले राम्रो व्यापार गर्नेछन् । सन् २०२३ मा शाहरुख खान तीनवटा फिल्म लिएर ठूलो पर्दामा कमब्याक गर्दैछन् । यशराज फिल्म्सद्वारा निर्मित एक्सन फिल्म पठानले शाहरुख खानको पुनरागमन लाई सार्थक तुल्याइसकेको छ ।

यो वर्षको जुन महिनामा शाहरुख खान आफ्नो होम प्रोडक्सन प्यान इन्डिया फिल्म ‘जवान’ मा देखिनेछन् जसमा दक्षिण भारतीय स्टार विजय सेतुपति र नयनथारा पनि महत्वपूर्ण भूमिकामा छन् । यसैगरि डिसेम्बर महिनामा शाहरुख खान निर्देशक राजकुमार हिरानीसँगको आफ्नो पहिलो फिल्म ‘डँकी’ मा प्रस्तुत हुनेछन् । यो फिल्ममा तापसी पन्नुको पनि महत्वपूर्ण भूमिका छ ।

शाहरुख खानकी छोरी सुहाना खान पनि जोया अख्तरको ओटीटी फिल्म ‘द आर्ची’ बाट अभिनेत्रीका रुपमा फिल्म उद्योगमा डेब्यु गर्दैछिन् भने उनका छोरा आर्यन खान निर्देशकका रुपमा फिल्म उद्योगमा डेब्यु गर्दैछन् ।

करिब एक वर्षपछि सुपरस्टार सलमान खान आफ्ना फ्यानहरुका लागि यो ईदमा फिल्म ‘किसी का भाइ किसकी जान’ लिएर आउँदै छन । फरहाद सामजीले निर्देशन गरेको यो फिल्ममा दक्षिण भारतीय कलाकार वेंकटेश, जगपति बाबु र पूजा हेगडे पनि देखिनेछन् ।

अक्षय कुमार र अजय देवगन सलमान खानको बहुचर्चित एक्शन स्पाई फिल्म ‘एक था टाइगर’ को तेस्रो भाग नोभेम्बर महिनामा रिलिज हुँदैछ । यशराज फिल्म्सको यो सफल फ्रेन्चाइजीमा मनेश शर्माको निर्देशनमा कट्रिना कैफ र इमरान हाशमी पनि छन् । ‘दृश्यम- २’ को सफलतापछि अजय देवगन २०२३ मा स्पोर्ट्स बायोग्राफिकल ड्रामा ‘मैदान’ लिएर मैदानमा उत्रदैछन् । ‘बधाई दो’ का निर्देशक अमित शर्माद्वारा निर्देशित यो फिल्मले भारतीय फुटबलको स्वर्णिम युगलाई प्रस्तुत गर्नेछ । मैदानमा अजय देवगनले फुटबल प्रशिक्षक सईद अब्दुल रहीमको भूमिका निर्वाह गरिरहेका छन् । अजय देवगनको अर्को थ्रीडी फिल्म ‘भोला’ पनि प्रदर्शनको लाईनमा छ । यो फिल्म अजय आफैंले निर्देशन गरेका हुन् जसमा तब्बु पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् ।

अर्कातर्फ हरेक वर्ष चार वटा फिल्ममा काम गर्ने अक्षय कुमारका लागि २०२२ राम्रो साबित भएन । उनका प्रशन्सकहरूको अपेक्षा अब आउने उनका फिल्मबाट छ ।

यो वर्षका लागि तयार उनका तीनवटा फिल्म मध्ये ‘गुड न्युज’का निर्देशकसँगको ‘सेल्फी’ असफल भैसकेको छ । भगवान शिवको अवतारमा उनी ‘ओ माइ गड- २’ मा पंकज त्रिपाठीको अपोजिटमा देखिनेछन् । वर्षको अन्त्यमा उनी टाइगर श्राफसँग एक्सन फिल्म ‘बडे मियाँ, छोटे मियाँ’ मा पनि देखिनेछन् ।

कार्तिक आर्यन, आयुष्मान खुराना र वरुण धवन भुल भुलैया- २ को सफलतापछि कार्तिक आर्यनले अब नयाँ शैलीमा नयाँ इनिङ्स सुरु गरिरहेका छन् । अब उनी तेलुगु सुपरस्टार अल्लु अर्जुनको फिल्म अला वैकुन्ताप्रितुको रिमेक शहजादामा एक्शन भुुमिकामा प्रस्तुत हुनेछन् । यो हिन्दी रिमेकका निर्माता पनि अल्लु अर्जुन नै हुन् । रोहित धवन निर्देशित ‘शहजादा’ मा कृति सेनन र परेश रावल पनि महत्वपूर्ण भूमिकामा छन् । एक्शन चलचित्रमा प्रयास गरेपछि कार्तिक आर्यन म्युजिकल रोमान्टिक फिल्म ‘सत्य प्रेम की कथा’ मा कियारा आडवाणीको अपोजिटमा देखिनेछन् ।

अनौठा कथा चयनका लागि परिचित आयुष्मान खुरानाले राज शान्डिल्यको ‘ड्रिम गर्ल – २’ मा आफ्नो पुरानो सफलता दोहोर्याउने प्रयास गर्नेछन् । यसैगरि ‘दंगल’ का निर्देशक नितेश तिवारीको फिल्म ‘बावल’मा वरुण धवन र जान्हवी कपूर प्रस्तुत हुनेछन् ।

निर्देशक-निर्माता करण जोहरले करिब छ वर्षको अन्तरालपछि सिनेमा हलका लागि चलचित्र निर्देशन गर्दैछन् ।२०१६ मा उनले रणवीर कपुर र अनुष्का शर्मासँग फिल्म ‘ए दिल है मुश्किल’ बनाएका थिए । २०२३ मा उनी ‘रकी एण्ड रानी की प्रेम कहानी’ लिएर आउँदैछन्, जसमा रणवीर सिंह र आलिया भट्टसँगै धर्मेन्द्र, जया बच्चन तथा शबाना आजमी महत्वपूर्ण भूमिकामा देखिनेछन् । यो चलचित्र अप्रिल महिनामा हलमा आउनेछ ।

वर्षको अन्त्यमा रणवीर कपूर कबीर सिंह फेम निर्देशक सन्दीप रेड्डी वांगाको निर्देशनमा बन्ने एक्शन थ्रिलर ‘एनिमल’ को एक हिस्सा हुनेछन्। यो फिल्ममा अनिल कपुर, बबी देओल र रश्मिका मन्डन्ना पनि देखिनेछन् ।

यसैगरि भारत-पाकिस्तान विभाजनको पृष्ठभूमिमा निर्मित सफल फिल्म ‘गदर’को दोस्रो भागमा निर्देशक अनिल शर्माले सनी देओल र अमिषा पटेलको प्रेमकथालाई फेरि एकपटक दर्शकसामु प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया