बुधबार, असार ११, २०८२

बागलु्गमा गाउँपालिका तहमै ‘थ्रोट स्वाब’ सङ्कलन

नेपालखोज २०७७ जेठ ९ गते १४:१८

बागलुङ । बागलुङमा शङ्कास्पद बिरामीको कोरोना जाँचका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गर्न सदरमुकामबाट स्वास्थ्य प्राविधिक पठाउनुपर्ने समस्या हटेको छ । स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य प्राविधिकलाई तालिम दिएर तयार पारिएको हो ।

यहाँका १० वटै स्थानीय तहमा रहेका स्वास्थ्य प्राविधिकले कोरोना परीक्षणका लागि लिइने सो सङ्कलन गर्न सक्ने भएका छन् ।सदरमुकाममा रहेका केही निजी पोलिक्लिनिक, गलकोट र बडिगाड गाउँपालिकामा रहेका निजी स्वास्थ्य संस्थामा कार्यरत प्राविधिकले समेत स्वाब सङ्कलनबारे तालिम लिएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयको आयोजना र सो कार्यालयको संयोजनमा बिहीबार जिल्लाभरका ३० स्वास्थ्य प्राविधिकलाई स्वाब सङ्कलनसम्बन्धी तालिम दिइएको छ ।

उनीहरुलाई आपसी सहकार्य र सावधानीका साथ स्वाब सङ्कलन गर्ने विधिबारे जानकारी गराइएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसिएन डिल्ली आचार्यले जानकारी दिए । “अब हरेक पालिकामा रहनुभएका प्राविधिक साथीहरुले पनि स्वाब लिन सक्नुहुन्छ”, उनले भने, “सङ्ख्यामा धेरै भए जिल्लासँगको समन्वयमा काम हुन्छ ।”

कोरोना सङ्क्रमितको सम्पर्कमा आएका र भारतलगायत बाहिरी जिल्लाबाट आएका शङ्कास्पद बिरामीको स्वाब लिनुपर्ने भए सदरमुकामबाटै स्वास्थ्य प्राविधिकको टोली पठाउने गरिएको थियो । यसभन्दा पहिला धवलागिरि अस्पताल र स्वास्थ्य कार्यालयका प्राविधिकले मात्रै स्वाब सङ्कलन गर्दै आएका थिए ।

निर्देशनालयले तालिम दिएसँगै जिल्लाभर ३२ भन्दा धेरै स्वास्थ्य प्राविधिक सो सङ्कलन गर्न सक्ने अवस्थामा रहेको कार्यालयले जनाएको छ । तालिममा निर्देशनालयका डा सञ्जीवमणि रेग्मीलगायतले सहजीकरण गर्नुभएको थियो । सबै स्वास्थ्य प्राविधिकलाई सङ्कटको सामना गर्न तयारी अवस्थामा रहन उनले निर्देशनसमेत दिएका थिए ।

प्रतिक्रिया