बुधबार, वैशाख १२, २०८१

डोटीमा भारतबाट आएकालाई क्वारेन्टिनमा राखिँदै

नेपालखोज २०७७ जेठ ९ गते १७:५४

डोटी । कामको सिलसिलामा भारतका विभिन्न शहर गएका मान्छे अहिले जिल्ला फर्किएका छन् । उनीहरुलाई बिना चेक जाँच यहाँका स्थानीय तहले आफ्ना क्वारेन्टिनमा राख्न थालेको छ ।

कोभिड–१९ को जाँच गर्ने ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) कीट नभएका कारण उनीहरुलाई बिना जाँच क्वारेन्टिनमा राखिन थालिएको हो । जिल्लामा आजसम्म कम्तीमा पनि ५०० भन्दा बढी नागरिक भारतबाट भित्रिएका छन् । जसमा २०० नागरिक केआइसिंह गाउँपालिकाका मात्रै रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भारतबाट आएका नागरिकलाई दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नं ४ राजपुरमा रहेको सेती सभाहल, वडा नं १ को मगलेक माबी तिखा, केआइसिंह गाउँपालिका, शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको चवरा चौतारालगायतका ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ ।

कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएका उनीहरुलाई बिहीबार जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले उद्धार गरेर जिल्लामा ल्याएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताए । उद्धार गरिएकामा ससाना बालबालिकाका, महिला तथा वृद्ध रहेको उहाँले जानकारी दिए ।

भारतबाट आएका नागरिकलाई बिना जाँच क्वारेन्टिनमा राखिन थालेपछि जिल्लामा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको दिपायल पिपल्लाका घनश्याम पाठकले बताए ।

स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन स्तरिय नभएका तथा क्वारेन्टिनमा राखिएकालाई चाहिने न्यूनतम आवश्यक सामग्री (शौचालय, शुद्ध खानेपनी, ग्यास, सुत्नेलगायतका व्यवस्था) समेत नभएकाले समस्या हुने स्थिति देखिएको जोरायल गाउँपालिका–५ का सर्वजित देउवाले बताए ।
जिल्ला अस्पतालमा कोभिड–१९ को जाँच गर्ने ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) कीट नभएका कारण भारतका सीमाबाट उद्धार गरी ल्याइएका नागरिकलाई बिना जाँच क्वारेन्टिनमा राखिएको दिपायल सिलगढी–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए । सो वडामा मात्रै ३० जना भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका छन् ।

प्रतिक्रिया