बजारमा औषधि अभाव हुँदैन : औषधि व्यवस्था विभाग

नेपालखोज २०७७ जेठ ११ गते १४:५०

काठमाडौं । सरकारले बन्दाबन्दी गरेको दुई महिना बिते पनि अहिलेसम्म जटिल प्रकृतिका रोगका र सामान्य समस्याका औषधिको अभाव देखिएको छैन ।

केही महिनाका लागि औषधि मौज्दात रहेको र अहिले नियमित उत्पादन भइरहेकाले अभाव नहुने देखिएको छ । औषधि व्यवस्था विभागले बन्दाबन्दी शुरु हुनासाथ पाँच ६ महिनाका लागि औषधि रहेको जनाएको थियो । त्यही आधारमा बन्दाबन्दी आज दुई महिना बितेकाले अझै तीन चार महिनाका लागि औषधि बाँकी रहेको औषधि व्यवस्था विभागले जनाएको छ ।

त्यसो त भारतबाट आउने औषधि पनि आइरहेको छ भने स्वदेशी उत्पादकले पनि उत्पादन गरिरहेका छन् । विभागले अहिले कति औषधि मौजुदा अवस्थामा छ भनी अध्ययन गर्न लागेको सूचना अधिकारी सन्तोष केसीले बताए उन भने, “महिना नै तोकेर यति समयका लागि औषधि छ भन्न नसकिए पनि अझै केही महिना समस्या नहुने देखिएको छ ।”

बन्दाबन्दीपछि केही समय यातायातका कारण कतिपय स्थानमा औषधि ढुवानीमा समस्या देखिए पनि अहिले ढुवानी सहज बन्न थालेको उनले बताए । अहिले कुनै कुनै ठाउँमा केही कारण औषधि नपुगेको भए पनि समग्रमा देशभित्र औषधिको अभाव नरहेको विभागले जनाएको छ ।
सरकारले बन्दाबन्दी जारी राखिरहँदा औषधिको उत्पादन, आयात र ढुवानी गर्नेलाई पास उपलब्ध गराएको छ र ती सवारीलाई छुट दिइएको छ ।

नेपालमा विदेशबाट आउने औषधिमध्ये ८० प्रतिशत भारतबाटै आउने गरेको छ । भारतमा ‘लकडाउन’ हुनासाथको अवस्थामा १३ प्रकारका औषधि र कच्चा पदार्थ रोकिएकाले समस्या भएको थियो । अहिले भारतबाट आउने औषधि नियमित आएकाले समस्या नभएको उनले बताए । भारतमा यातायात सहज भएपछि औषधि आयात अझै सहज हुने देखिएको छ । उनले भने, “भारतले उडान खुलाउँदा औषधि आयात गर्न अझै सजिलो हुनसक्छ ।”

सरकारको केही वर्ष पहिलेको तथ्याङ्कअनुसार नेपालमा उपभोग हुने औषधिमध्ये ४५ प्रतिशत स्वदेशी उत्पादन र ५५ प्रतिशत आयात हुने गरेको छ । केही वर्ष पहिलेको यो आँकडालाई सरकार अद्यावधिक गर्न अध्ययन गरिरहेको सूचना अधिकारले केसीले बताए ।अहिले स्वास्थ्य सेवा विभाग आफैँले पनि केही औषधि बोलपत्र गरेर खरिद प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया