बुधबार, असार ११, २०८२

कैलालीमा किट अभाव, जोखिम उच्च

नेपालखोज २०७७ जेठ ११ गते १६:४९

कैैलाली । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ । यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो ।

किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । “जोखिम बढेको छ, किट छैन परीक्षणको दायरा बढाउन सकिएको छैन”, उनले भने, “प्रदेश सरकारसँग समन्वय गर्दा पनि किट पाइएको छैन ।

आफ्नै स्रोतले खरिदका लागि पनि सम्भव देखिँदैन ।” उनले आरडिटी र भिटिएम दुवै किट नहुँदा परीक्षणको काम पूर्णरुपमा रोकिएको जानकारी दिए ।  नगरपालिकामा हाल १६० जना क्वारेन्टिनमा रहेका छन् । भारतबाट नागरिक आउने क्रम बढेसँगै क्वारेन्टिनको व्यवस्थापनमा समेत नगरपालिकाले काम गर्दै आएको उनले बताए ।

नगरपालिकाको प्रोफाइलका अनुसार १६ हजार नागरिक भारतमा रहेको बताए । उनले यस्तै अवस्था रहने हो भने स्थानीय सरकारले धेरै दिन थेग्न नसक्ने भन्दै हालको अवस्थामा कम्तीमा पाँच हजार नागरिक नगरमा भित्रन सक्ने बताए । त्यस्तै सङ्क्रमण देखिएको जानकी गाउँपालिमा समेत किट नहुँदा कोरोना परीक्षण रोकिएको छ ।

सङ्क्रमितको सम्पर्कमा आएका ४२ जना आफूहरुको सम्पर्कमा आए पनि परीक्षण किट नभएका कारण कुनै काम गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । उनले दिनप्रतिदिन सयौँको सङ्ख्यामा भारतबाट नागरिक आउन थालेको बताउँदै परीक्षणको दायरा बढाउन नसकेकै कारण समुदायमा त्रास फैलिएको बताए ।

स्वास्थ्य शाखा प्रमुख चौधरीले क्वारेन्टिनमा बसेकाको समय पुगिसकेको पनि किट नभएकै कारण जाँच गर्न नसकिएको बताए । जानकी गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वडा नं ४ को मोतिनगर र वडा नं ७ को बेलासपुर सिल गरिएको छ ।

प्रतिक्रिया