संविधान संशोधनका पक्षमा उभिन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका पक्षमा उभिन दलहरुलाई आग्रह गरेका छन् । हिजो साँझ अबेर बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रस्ताव दर्ता भएकाले साथ दिन आग्रह गरेका हुन् ।
संविधान संशोधनबारे दलहरुको मागबारे आगामी दिनमा छलफल गर्न सकिने प्रधानमन्त्री ओलीले बताएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयत्नका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको मन्त्री ज्ञवालीले बताए। संविधान असंशोधित दस्तावेज नभएको बताउँदै प्रधानमन्त्री ओलीले आवश्यकतानुसार यसमाथि छलफल गर्न सकिने बताए । “यो विषय तत्काल गर्नुपर्ने र ढिला गर्नु नहुने विषय भएकाले अरू विषय अहिले समावेश नगरौं”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री ज्ञवालीले बताए।
संसद् अधिवेशन यही रुपमा लामो समयसम्म चलाउनु जोखिमपूर्ण भएकाले संशोधनको विषय चाँडो टुंग्याउन बैठकमा प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संशोधनका पक्षमा मत राख्न चाहे पनि छलफलका लागि थोरै समय चाहिने बताएका थिए ।
यसबारे पार्टीको केन्द्रीय समितिको बैठकले चाँडै निर्णय लिने नेता कृष्णप्रसाद सिटौलाले बताए। जनता समाजवादी पार्टीले भने संशोधन प्रस्तावमा आफ्ना कुरालाई पनि समेट्न आग्रह गरेका थिए। “भौगोलिक अखण्डताका यी विषयमा उहाँहरुको फरक मत छैन”, मन्त्री ज्ञवालीले भने।

प्रतिक्रिया