भेरीमा बेपत्ता युवाको खोजीका लागि सशस्त्रको गोताखोर टोली परिचालन
रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्ताहरुको खोजीका लागि गोताखोरको टोली घटनास्थल पुगेको छ।
बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शमशेरगञ्जबाट प्रहरी सहायक निरीक्षक रमेश थापाको कमाण्डमा चार जनाको गोताखोर टोली घटनास्थल पुगेको हो।
‘बेपत्ताको खोजीका लागि नदीमा पस्ने तयारी भइरहेको छ,’ गोताखोर टोलीका संयोजक थापाले भने, ‘केही समयमै कालेगाउँबाट खोजी सुरु हुन्छ ।’ सोती घटनामा जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ का १८ वर्षीय लोकेन्द्र सुनार, १८ वर्षकै सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही सम्पर्कविहीन छन्।
उनीहरुको खोजीका लागि गोताखोर टोली घटनास्थल पुगेको हो। अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर शनिबार बेलुका ८ बजेतिर भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ नवराज विक, गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव भेरी नदीमा मृत भेटिएको थियो ।
घटनामा संलग्न रहेको भन्दै मृतकका नवराज, गणेश र टीकारामका बुबाहरुले चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया सुष्मा मल्ल, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

प्रतिक्रिया