एन्फाको कार्यसमिति बैठकमा यस्ता हुने छन् एजेण्डा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले समसामहिक बिषयमा छलफल गर्न जेठ १९ गते कार्यसमिति बैठक बोलाएको हो ।
एन्फाको संशोधित विधान अनुसार बैठक बस्नु ७ दिन अघि कार्य समिति सदस्यलाई जानकारी गराउनुपर्ने ब्यवस्था छ ।
सोही अनुसार एन्फाले आगामी सोमबारका लागि बैठक आह्वान गरेको हो ।
एन्फा प्रवक्ता किरण राईले महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण भिडियो कन्फरेन्समार्फत बैठक बस्न लागेको जानकारी दिए ।
बैठकमा एन्फाको बार्षिक बजेट लगायतका ५ वटा एजेण्डा तय भएको छ ।
बैठकमा कोरोना प्रभावित जिल्ला, क्लब र व्यक्तिलाई प्रदान गरिने कोरोना राहतको बिषयमा छलफल हुने बताईएको छ ।
एन्फाले यसअघिनै कोरोनाका कारण आर्थिक क्षति ब्यहोरेका सबै जिल्ला र क्लबलाई आवेदन दिन आह्वान गरेको थियो ।
सो अनुसार जिल्ला र क्लबबाट आएको निवेदनका आधारमा एन्फाले फिफामा राहत रकम माग गरेको छ ।
फिफाले कोरोनाबाट प्रभावित विश्वभरका फुटबल समुदायलाई यसअघिनै सहयोग गर्ने बताईसकेको छ ।
यस्तै, बैठकका लागि एन्फाको साधारण सभा, अनुशासन र विविध एजेण्डा तय गरिएको छ ।
बैठकले एन्फाको बार्षिक साधारण सभाको सम्बन्धमा निर्णय गर्ने बताईएको छ । यस्तै, अनुशासनको एजेण्डा समेत समावेश गरिएको छ ।
संस्था विरोधी गतिविधि गरेको आरोपमा एन्फाले अघिल्लो सातामात्र ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापालाई साधारण सभा सम्मका लागि निलम्बन गरेको थियो ।
एन्फाको सचिवालय बैठकले ललितपुर जिल्ला अध्यक्षलाई स्पष्टिकरण सोध्दै निलम्बनको निर्णय गरेको थियो ।
अनौपचारिक रुपमा कार्यसमित सदस्यसंग छलफल गरेर निर्णय गरेपनि बैठकमा एजेण्डाको रुपमा बिषयले प्रवेश पाउने देखिएको छ । एजेन्सी
प्रतिक्रिया