संसदमा पेश नहुने भयो संविधान संशोधन सम्बन्धी विधेयक

नेपालखोज २०७७ जेठ १४ गते १३:३४

काठमाडौँ । संविधान संशोधन सम्बन्धी विधेयक बुधबार संसदमा पेश नहुने भएको छ । संसद सचिवालयले नेपालको संविधान (दोस्रो संशोधन), २०७७ सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचि मंगलबार सार्वजनिक भएको थियो ।

तर बुधबार सचिवालले सरकारको आग्रहमा कार्यसूचिबाट हटाएको हो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले भनेका छन्, ‘सम्भावित कार्यासूचिमा प्रस्ताव थियो । तर सरकारको आग्रहमा बुधबारको कार्यसूचिबाट हटाइएको हो ।’

सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका संविधान संशोधन गर्न लागिएको   हो । सरकारले हालै लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

तर मंगलबारको सर्वदलीय बैठकमा कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफलका लागि थप समय मागेको तथा मधेस केन्द्रित दलहरुले पनि प्याकेजमै सहमति हुनु पर्ने अडान लिएका कारण सरकार रोकिएको हो ।

सत्तारुढ नेकपासँग संविधान संशोधनका लागि चाहिने दुई तिहाई भन्दा केही कम सांसद छन् । नेपाली कांग्रेस र मधेस केन्द्रित दललाई सहमतिमा लिनका लागि समय लाग्ने देखेकाले सरकार तत्कालका लागि पछि हटेको हो ।

प्रतिक्रिया