बिहीबार, वैशाख १३, २०८१

अन्धविश्वासबाट सिर्जित हिंसालाई चुनौती दिन सफल महिला

नेपालखोज २०७७ जेठ २३ गते १४:४१

घटना केही वर्ष अघिको हो । चैत्र महिनाको गर्मी समयमा कागेश्वरी मनोहरा नगरपालिका, काडाँघारीको माहोलमा एकाएक थप गर्माहट देखियो । उक्त स्थानमा बसोबास गर्दै आएकी ३६ वर्षीय ‘एकल महिला’ रिना शर्मा (परिवर्तित नाम) लाई बोक्सीको आरोप लगाएर उनीमाथि योजनावद्ध रुपमा हिंसा हुँदा उनको एक आँखा पनि गुम्न पुगेको छ । ज्ञान र प्रविधिले उच्चतम प्रगति हासिल गर्न सकेको आजको युगमा यस्तो अन्धविश्वासी घटना घट्नु सिंगो मानव समाजकै लागि अत्यन्तै लज्जाजनक छ । यस्तो घटनालाई समाज सामु राख्नुपर्छ र परिवर्तनको लागि समाजलाई झकझकाउनुपर्छ भन्ने उद्देश्यले यस घटना–अध्ययन तयार पारिएको हो ।

श्रीमानको क्यान्सरको कारणबाट मृत्यु भएपछि आफ्ना दुई छोरीहरुको साथमा ३६ वर्षीय रिना शर्मा काडाँघारीमा बस्दै आएकी थिइन् । उनकी जेठी छोरी कक्षा १२ मा अध्ययनरत थिइन् भने कान्छी छोरीले त्यस वर्ष एस्एल्सी. परीक्षाको तयारी गर्दै थिइन् । उनका सौतेनी छोराहरू विदेशमा बसोबास गर्दै आएका थिए । रिनाको बहिनी ज्वाइँले चैत्र ९ गते उनलाई आफ्नो घरमा पूजामा आउन निमन्त्रणा दिए । तर कान्छी छोरीको एस्।एल्।सी। परीक्षा चलिरहेको हुँदा छोरीहरू आउन नपाउने बताइन् । ज्वाइँले रिनालाई ‘छोरीहरुले नभ्याउने भए तपाईमात्र भएपनि आउनुस’भनेर आग्रह गरेपछि उनी बिहानै बहिनीको घरमा पुगेकी थिइन् । तर त्यहाँको वास्तविकता अर्कै थियो, जसबारे रिना अनभिज्ञ थिइन् । आफन्तकोमा पूजामा सहभागी हुन गएकी उनी घाईते भएर अस्पतालको सैयामा पुग्नुपर्यो ।

घटना र यसको परिणाम पत्याउनै मुस्किल पर्ने खालको छ । रिनाको बहिनीको बच्चा हुन सकेको थिएन । ‘जान्ने धामी’कोमा देखाउन जाँदा उसले “बच्चा नहुनुमा बोक्सीको हात छ र उक्त बोक्सी तपाईहरुको नजिकैका कोही हुन्” भनीदिएपछि बहिनी र ज्वाइँ ‘बोक्सी को होला’भनेर खोजी गर्न थाले । यस्तो मामलामा हाम्रो समुदायमा एकल अनि कमजोर महिलालाई दोष लगाउने चलन छ । उनीहरु सबैजनाले रिना नै बोक्सी हो र उनले गर्दा नै बच्चा हुन नसकेको हो भन्ने निधो गर्न पुगे । आफ्नै दिदीलाई बोक्सी हो भन्ने ठानेपछि रिनाबारे अनेक नकारात्मक टिकाटिप्पणी सुरु भयो र यसमा केही आफन्तले पनि उनीहरुको ‘कान भर्ने’काम गरे । रिनाको हरेक गतिविधिमाथि शंका गर्न थाले । अन्ततः बहिनीले आफ्नो श्रीमान र आफन्तसँग मिलेर ‘बोक्सी’दिदीलाई तह लगाउने योजना बनाइन् । त्यस्तो योजनासँग अन्जान रिना आफ्नो बहिनीकोमा पुग्दा त्यहाँ केही मानिसहरू भेला भएको देखिन् । तर, पूजाको कुनै तयारी गरिएको थिएन ।

एक्कासी बहिनी र ज्वाइँसमेत त्यहाँ उपस्थित सबैले उनलाई बोक्सी भनी गाली गर्न थाले । बहिनीले ‘तैंले गर्दा मेरो बच्चा भएन’भनी हातपात गर्न थालिन् । आफ्नो बचाउमा उनले हात चलाउन खोज्दा अन्य व्यक्तिहरूले हातखुट्टा समाते र कुटपिट गर्न थाले । उनीमाथि उनकै ज्वाइँले आँखामा हँसियाजस्तो धारिलो हतियारले प्रहार गरी बेहोस बनाइदिए । लामो सास फेर्दै उनी भन्छिन्– “धेरै कुटपिट भएपछि म त बेहोस भईछु । सायद मर्यो भन्ने ठानेर होला, मलाई नजिकैको बारीमा फालीदिएछन् । छिमेकीहरूले वेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरीदिएछन् र प्रहरीको सहयोगमा मलाई तिलगंगा अस्पतालमा पुर्याएछन्”। यस घटनामा रिनाको एउटा आँखा नै गुमेको छ । उपचारपश्चात् घरमा आएपछि पनि उनले शान्तिसँग बस्न पाइनन् । आफन्तले नै घरबाट निस्कन दवाव दिएपछि उनको जीवनमा थप समस्या आईलाग्यो ।

उक्त घटनापश्चात् उनको एउटा आखाँले ज्योति त गुमायो नै यसले उनको मनोबल पनि कमजोर बनायो । आफ्नै माइतीबाट अमानवीय व्यवहार हुनु र आफन्तहरूबाट नै अपहेलित भई घरबाट निकालिँदा उनलाई सहारा दिने कोही थिएनन् । उनले जीवनबाट नै हार मानिसकेकी थिइन् । आत्महत्या गर्ने बिचार पनि आएको थियो मनमा । तर, आफ्ना दुई छोरीहरूको भविष्यलाई उज्वल बनाउने चाहनाले उनको मनोवल बढ्यो र छोरीहरूलाई सक्षम बनाउने अठोट गरिन् । त्यसपछि परिवारसँग अशंवण्डा गरी अंशस्वरुप पाएको केही जमिन बेचेर कपनमा सानो छाप्रो बनाएर बस्न थालिन् ।

उनलाई आफ्ना छोरीहरुको धेरै चिन्ता थियो । आफूमाथि आईपरेको घटनाले छोरीहरुको मानसिक अवस्थामा असर पार्ला भन्ने डर थियो । तसर्थ, आफ्ना छोरीहरूलाई पर्न सक्ने असरबाट बचाउन पहल गरिन् । आफ्ना छोरीहरूलाई अघि बढ्न हौसला दिँदै उनीहरूको पढाईलाई निरन्तरता दिइन् । छोरीहरूले पनि आमाको भावना बुझेर कडा परिश्रम गरे । अहिले उनीहरूले आमाको चाहना पुरा गरेका छन् । हालसालै जेठी छोरी सिभिल इन्जिनियर बन्न सफल भएकी छिन् भने कान्छी छोरी नर्सिङ् विषय अध्ययनरत छिन् । रिनामाथि हिंसा गर्नेहरूलाई प्रहरीले गिरफ्तार गरेर मुद्धा चलायो । हाल उनीहरू जेलमा सजाय काटिरहेका छन् ।

यस घटना अन्धविश्वाससँग सम्बन्धित छ । नेपाली समाजमा बोक्सीको आरोप लगाउने कुरीति अझै देखिन्छ । एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि राजधानी मै घटेको यस घटनाले समाज अझै रुढीग्रस्त छ भन्ने प्रष्ट पार्दछ । एकल र कमजोर महिलालाई बोक्सीको संज्ञा दिएर शोषण गर्ने क्रम अझै पनि चलिरहेको छ । महिला सशक्तिकरणको बहस चलिरहेको बेला बोक्सीको आरोपमा महिलामाथि दुव्र्यवहार हुनुले समाजमा अझै पनि अन्धविश्वास व्याप्त छ भन्ने देखाउँछ । यस्तो अन्धविश्वासलाई उखेलेर फाल्नु आजको मुख्य चुनौती हो ।

कुनै पनि महिलाको बच्चा नहुनु भनेको स्वास्थ्यसँग सम्बन्धित विषय हो । यो कसैले गराइदिने समस्या होइन । यस्तो समस्या पर्दा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्नेमा उनीहरू झारफुक गर्ने ढोंगीहरूकोमा गएको देखिन्छ । ‘जान्ने’ भनिने ढोंगीहरूको कुरा सुनेर आफ्नै दिदीलाई बोक्सीको आरोप लगाएर दिदीमाथि कुटपिट गर्ने योजना बनाउने कार्य एक जघन्य अपराध थियो । त्यस्तै, ढोंगीको अन्धविश्वासमा परी आफन्तलाई हँसियाले आँखामा प्रहार गर्नु अझै क्रूर कार्य थियो ।

विज्ञानले अकल्पनीय प्रगति गरेर विश्वसमाज धेरै अगाडि बढिसकेको छ तर, अन्धविश्वासमा जकडिएकाहरु हाम्रो समाजमा अझै थुप्रै छन् । अहिले पनि धेरै महिलाहरु बोक्सीको आरोप लागेर हिंसा भोग्न वाध्य छन् । तर, तिनै महिलाहरुमध्येकी एक साहसी महिला ‘रिना’ले आफूमाथि भएको हिंसालाई चुनौती दिएर परिवर्तनका लागि सफल उदाहरण बन्न सकेकी छिन् । सामाजिक रुपान्तरणका लागि कटिवद्ध त्यस्ता साहसी ‘रिनाहरु’को आवाजमा आवाज मिलाउन सबै एकवद्ध भएर लाग्नु जरुरी छ । (लेखिका नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज), जोरपाटीमा जनस्वास्थ्य विषय अध्ययनरत छिन् )

प्रतिक्रिया