मंगलबार, वैशाख ३०, २०८२

शिक्षा मन्त्रालयद्वारा “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी

नेपालखोज २०७७ जेठ २५ गते १५:४७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरको छ । गत चैत ११ गतेदेखि नेपालमा गरिएकोे लकडाउनका कारण करिब ८० लाखभन्दा बढी विद्यार्थी शिक्षाविहीन बनेका छन् ।

शहरी क्षेत्र तथा पहुँच भएका केही निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि अधिकांश सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ । यही अवस्थालाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि लागू हुनेगरी “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेको हो ।

सिकाइ सहजीकरण निर्देशिका आएपछि संघीय सरकार, स्थानीय निकाय र विद्यालयहरू केही सक्रिय हुन थालेका छन् । शनिवार डिजिटल संवाद कार्यक्रममा कुरा गर्दै सरोकारवालाहरूले यो अवस्थामा सिकाइलाई प्रभावकारी बनाउन स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शिक्षा विभागका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले विभिन्न निकाय, विज्ञहरूको छलफलबाट निर्देशिका आएको भन्दै अब यसलाई लगू गर्न स्थानीय निकाय र विद्यालयहरूको भूमिकामा जोड दिए । विद्यार्थीको सिकाइमा आउने क्षति, डिजिटल बढ्ने सम्भावनाहरूलाई हेर्दै अहिले अवस्था हेरेर विभिन्न ५ प्रकारका माध्यमबाट सिकाइ निरन्तर सुचारु गर्ने प्रयास सरकारले गरेको थपलियाले बताए ।

कोभिड–१९ वा यस्तै प्रकारको विपद् वा महामारी जस्ता कारणले नियमित पठनपाठन गर्न कठिन भएको वा हुन सक्ने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन, अध्यापन सुचारु राख्ने विधि र प्रक्रियाबाट वैकल्पिक सिकाइ अवलम्बन गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।

विद्यालय स्तरको शिक्षामा वैकल्पिक सिकाइ र प्रविधि विषयको कार्यक्रममा हरेक प्रदेशबाट प्रधानाध्यापक, शिक्षक, स्थानीय निकायका प्रतिनिधिहरूको सहभागीता थियो ।

प्रतिक्रिया