जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

नेपालखोज २०७७ जेठ २५ गते २०:१०

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल, निर्वाचन आयोगमा दर्ता भएको छ।

आज साँझ दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेर दर्ता गरिएको जसपाको दर्ता नम्बर एक हजार ३९२ रहेको छ। दुई अध्यक्षात्मक प्रणाली अपनाइएको जसपामा पहिलो वरीयताको अध्यक्ष महन्थ ठाकुर,दोस्रो वरीयताको अध्यक्षमा उपेन्द्र यादवलाई राखिएको छ।

यसैगरी वरिष्ठ नेतामा क्रमशः अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो छन्। अहिलेलाई २२ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइएको छ। निर्वाचन आयोगका कानून शाखाका सहसचिव लक्ष्मी गौतमले जसपा दल दर्ता भएको जानकारी दिँदै थप केही विवरण आवश्यक परे आयोगले माग्न सक्ने बताए।

दुई पार्टीबीच गएको १० वैशाख राति पार्टी एकताको घोषणा भएको थियो। ११ वैशाखमा दल दर्ता गर्न नेताहरू आयोग पुगे पनि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोले दर्ता हुन सकेको थिएन।

प्रतिक्रिया