फुसको छाना हटाउने अभियानको शुरु
विराटनगर । मोरङका प्रदेशसभा सदस्य चुमनारायण तवदारले आफ्ना निर्वाचन क्षेत्रमा फुसको छाना हटाउने अभियानको शुरुआत गरे । अतिविपन्न, गरिब, असहाय, दलित तथा पिछडावर्गलाई लक्षित गरी सञ्चालनमा गरिएको सो अभियानमा बूढीगङ्गा गाउँपालिकामा ५६ परिवारलाई जस्तापाता वितरण गरिएको छ ।
एक वडामा आठ परिवारलाई वितरण गरिने सो कार्यक्रमअन्तर्गत सो गाउँपालिकामा एक वडादेखि सात वडासम्मका ५६ परिवारलाई जस्तापाता वितरण गरेको उनले जानकारी दिए । सो अभियानअन्तर्गत उनले गएको वर्षमा आफ्ना निर्वाचन क्षेत्रमा ८२ परिवारलाई जस्तापाता वितरण गरे ।
वडा नं १ निवासी रामपाल ऋषिदेवले घरको छानाका लागि सांसदबाट प्राप्त सहयोगले सुविधा भएको र यसबाट हामी आफ्ना बालबालिकालाई घाम, पानीबाट बचाउन मद्दत मिलेको जानकारी दिए । सोही वडाका शिवचन्द्र क्रृषिदेव, ध्रुव परियार, शिवचन्द्र राजवंशी र पार्वती विकले पनि हिजोसम्म हाम्रा घरमा खरको छाना थियो तर आज सांसद तबदारले गर्नुभएको सहयोगबाट छाना परिवर्तन भएको छ र हाम्रा घरपरिवार खुशी छाएको प्रतिक्रिया दिए ।
गरिब तथा रोजगार नपाएका महिलालाई स्वरोजगार गर्न सिलाइ मेसिन पनि वितरण गरिएको छ । सो गाउँपालिकाकै एक वडादेखि सात वडासम्म २१ थान सिलाइ मेसिन वितरण गरिसकेको र यो अभियानअन्तर्गत थप महिलालाई सिलाई मेसिन वितरण गर्ने योजना बनाइरहेको सदस्य उनले जानकारी दिए । सिलाइ मेसिन वितरण गर्नुभन्दा पहिले लक्षित महिलालाई तालिम दिइएको र अब मेसिन प्राप्त गरिसकेपछि जीवनमा परिवर्तन आउने विश्वास लिइएको छ ।
सो गाउँपालिकालाई उज्यालो बनाउने अभियानलाई पनि तीव्रता दिएको छ । सांसद तबदारले सो अभियानअन्तर्गत गत वर्ष रु २५ लाख सडकबत्तीमा खर्च गरेको र यसवर्ष रु ५० लाख सडकबत्तीमा खर्च गरिरहेकाले केही दिनमै यो गाउँपालिका उज्यालो गाउँपालिका परिणत हुने बताए । हेलोजिन नामक सडकबत्ती बिजुली खम्बामा जडान भएपछि गाउँपालिका झकिझकाउ भएको र यसबाट यहाँका जनतालाई धेरै सुविधा भएको बताइएको छ ।
प्रतिक्रिया