बिहीबार, चैत १५, २०८०

यसरी आधिकारिक सर्भिस सेन्टरमा सर्भिसिङ हुँदैछन् गाडी

नेपालखोज २०७७ जेठ २८ गते १४:३४

काठमाडौँ । लकडाउनको समयमा पनि विभिन्न सवारी साधन कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरुले अत्यावश्यक सवारी साधनलाई सर्भिसिङ सुविधा उपलब्ध गराइरहेका छन् । सरकारले लकडाउन खुकुलो बनाए पछि यस्ता सर्भिस सेन्टरमा विस्तारै सवारी साधनको चाप बढ्ने अनुमान गरिएको छ ।

यी सर्भिस सेन्टरहरुमा हाल सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान भइरहेको छ र आगामी दिनमा समेत सोही मापदण्ड कायम गरी ग्राहकलाई सेवा प्रदान गरिने कम्पनीहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सर्भिस र पार्ट्स तर्फका डीजीएस दिपक थपलिया लकडाउनको बीचमा इमर्जेन्सी कार्यमा प्रयोग हुने गाडीलाई मात्रै तिनकुनेस्थित सर्भिस सेन्टरबाट सेवा प्रदान गरिएको बताउँछन् । तर पछिल्लो केही दिन यता भने ग्राहकको चाहना अनुसार विभिन्न स्थानका सर्भिस सेन्टरबाट पनि सीमित संख्याका मेकानिक्समार्फत सेवा प्रदान गरिरहेको उनले बताए ।

यसका लागि हुन्डाईले निश्चित मापदण्ड बनाएको छ र सर्भिसिङका लागि आउने ग्राहकले पहिले नै विभिन्न माध्यमबाट बुकिङ गर्नु पर्छ । यो अवस्थामा गाडीलाई डिसइन्फेक्सन गर्ने देखि लिएर ग्राहकलाई विभिन्न प्रकारका कन्ट्याक्टलेस सुविधा उपलब्ध गराइरहेको थपलियाले बताए ।

हुन्डाईले हाल काठमाडौंमा रहेका ५ स्थान र नेपालभर गरी १४ सर्भिस सेन्टरमार्फत सम्भव भए सम्म सुविधा दिइरहेको छ ।

महिन्द्राको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वर्क्सले पनि पहिले देखि नै विभिन्न प्रकारका अत्यावश्यक सवारी साधनलाई सर्भिसिङ सुविधा उपलब्ध गराउदै आएको छ । काठमाडौं उपत्यकाको सन्दर्भमा बालाजु औद्योगिक क्षेत्रमा अवस्थित सर्भिस सेन्टरमार्फत यो सुविधा उपलब्ध गराइरहेको बालाजु अटो वर्क्सका जनरल म्यानेजर अमितकुमार चौधरीले बताए । यो वाहेक महिन्द्राले नेपालभर विभिन्न स्थानका ५० भन्दा धेरै स्थानका सर्भिस सेन्टरमार्फत यस्तो सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।

सर्भिसिङको अवस्थामा गेटमै गाडी र मानिस दुवैलाई डिसइन्फेक्सन गर्ने र अन्य विभिन्न मापदण्डको पालना गर्दै आएको चौधरीले बताए ।

निसान र ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पको आधिकारिक सर्भिस सेन्टर एसपीजी अटोमोबाइल्सका सर्भिस हेड कृष्ण पोखरेलका अनुसार कम्पनीको खुमलटारस्थित सर्भिस सेन्टरका साथै काठमाडौंको महाराजगन्जस्थित मेगा मोटर्सले समेत केही दिन देखि सर्भिसिङ सुविधा उपलब्ध गराइरहेको छ ।

त्यसैगरी विराटनगर, पोखरा आदि स्थानमा आवतजावत केही सहज भएको अवस्थामा समेत आवश्यकता अनुसार सर्भिसिङ सुविधा उपलब्ध गराइरहेको छ । यसका लागि कम्पनीले उपलब्ध गराइरहेको सर्भिस सुपरभाइजरको नम्बरका साथै फेसबुक पेज आदि सामाजिक सञ्जालमा उपलब्ध नम्बरमार्फत समेत ग्राहकले सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । डाक्टर, नर्स, उद्योग प्रतिष्ठान आदिका गाडीलाई विशेष रुपमा सेवा प्रदान गरिरहेको पोखरेलले बताए ।

मेगा मोटर्सका म्यानेजिङ डाइरेक्टर महेश पालले पहिले केही दिन लकडाउन खुकुलो भएको समयमा सेवा प्रारम्भ गरे पनि केही दिन पछि फेरि कडा गरिएसँगै सेवा पनि बन्द गरिएको र केही दिन यता फेरि सेवा प्रदान गर्न थालिएको बताए ।

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको कमर्सियल गाडी तर्फका सर्भिस हेड शाम्देन लामाले अत्यावश्यक सेवामा प्रयोग हुने एम्बुलेन्स, प्रहरीका गाडी र विभिन्न ढुवानीमा प्रयोग हुने गाडीका लागि सर्भिसिङ सेवा प्रदान गरिरहेको बताए । यो अवस्थामा नेपाल सरकार र टाटाको गाइडलाइन अनुसारको सुरक्षा माापदण्ड अपनाइएको लामाले बताए ।

आफूहरुले टोल फ्रि नम्बर वा अन्य सम्पर्क माध्यमबाट सम्पर्कमा आएका आवश्यकता अनुसार थोरै सवारी साधनलाई मात्र सेवा प्रदान गरिरहेको उनले बताए ।

यो अवधिमा एम्बुलेन्सका साथै पानी, खाद्यान्न, फलफुल, तरकारी आदि ढुवानी गर्ने साधनहरु गरी करिव ३ सय सवारी साधनलाई सर्भिसिङ सुविधा उपलब्ध गराएको सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जयदेव ट्रेडिङ प्रालिका म्यानेजिङ डाइरेक्टर जयप्रकाश चौधरीले बताए ।

सुजुकी गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पनि विभिन्न स्थानमा अत्यावश्यकका साथै अन्य सवारी साधन समेत सर्भिसिङ गरिरहेको छ । सीजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने भएको छ ।

सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ । यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था ठिक छ कि छैन जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको कम्पनीले बताएको छ ।

-नेपाल अटो

प्रतिक्रिया