कांग्रेसद्वारा कोरोना रोकथामका लागि सरकारको प्रयास प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि सरकारको प्रयास प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।
बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्। शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार कोरोना नियन्त्रणका लागि असफल भएको निष्कर्ष निकालेको थियो।
सरकारको अप्रभावकारीका कारण नेपालमा कोरोनाका कारण धेरै मानिसको मृत्यु हुन सक्ने अवस्था आउन लागेको तर्फ समयमै विचार गर्न सुझाव दिएको छ।
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति बेहोर्न परेको छ। हाम्रो सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन।’
कांग्रेसले आरडीटीबाट भइरहेको परीक्षण भरपर्दो नभएको उल्लेख गर्दै पीसिआर प्रविधिबाट परीक्षण हुन नसक्नु आश्चर्य जनक भएको उल्लेख गरेको छ। क्वारेन्टिन अव्यवस्थित हुँदा त्यो रोग सर्ने केन्द्रका रुपमा परिणत भएको कांग्रेसले आरोप लगाएको छ।

प्रतिक्रिया