बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउनको स्वरुपबारे छलफल हुँदै
काठमाडौं। लकडाउनको स्वरूपलगायतका विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले विज्ञसँग छलफल गरेर तयार पारेको स्वरूपका विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लकडाउन सहजीकरण गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भइरहेको उल्लेख गरेका छन्। यसअघि दिउँसो २ बजेका लागि बोलाइएको बैठक संसद् बैठकका कारण साँझलाई सारिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सरकारले लकडाउनलाई सरलिकरण गर्नेबारे निर्णय गर्न लागेको जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकले कोभिड–१९ परीक्षण निजी क्षेत्रलाई दिनसक्नेबारे पनि निर्णय हुन लागेको संकेत गरेका थिए।
साथै, लकडाउन र कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको असहज अवस्थालाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारे पनि मन्त्रिपरिषद्ले निर्णय लिने प्रधानमन्त्रीले सदनमा जानकारी गराएका थिए।
प्रतिक्रिया