शुक्रबार, चैत १६, २०८०

एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाईनबाटै

नेपालखोज २०७७ असोज ६ गते १४:५७

काठमाडौं । एशिया बैंकले ग्राहकवर्गलाई घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी यस बैंकको चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ ।

ग्राहक महानुभावहरूबाट आफ्नो मोबाइल वा कम्प्युटरमार्फत  लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिने बैंकले जानकारी दिएको छ । उक्त लिंक भित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको हुनाले भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस (SMS) मार्फत डिपोजिट कोड पठाईनेछ र उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफुले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिनेछ । यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ ।

बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ । चेक जम्मा गर्ने भौचर अनलाईन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाईन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको जानकारी दिएको छ । सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीको समेत शुरुवात गरिसकेको छ ।

साथै, मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, ए.बि.बि.एस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत यस आई-सर्भ मार्फत सेवा दिईरहेको छ । उक्त सेवाहरू आई-सर्भ मार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको जनाएको छ ।

उक्त बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको दाबी रहेको छ । बैंकको प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

बैंकको मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानमा गरि ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालनमा छन् ।

 

प्रतिक्रिया