बिहीबार, असार १२, २०८२

लकडाउन अवधिमा ६० प्रतिशत निर्माणका योजना सम्पन्न

नेपालखोज २०७७ जेठ ३१ गते १९:२०

लुम्बिनी । रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवामा लकडाउनका बीचमा पनि चालू आर्थिक वर्ष २०७६र०७७ का ६० प्रतिशत निर्माणका योजना पूरा भएका छन् ।

नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारीले भने, ‘हालसम्म सञ्चालित योजना ६० प्रतिशत निर्माणकार्य सम्पन्न भएका र बाँकी योजना सञ्चालनमा रहेका छन् ।’

नगरपालिकाले चालू वर्षका लागि निर्माण योजनामा पाँच किलोमिटर पक्की नाला, चार किलोमिटर ग्राभेल सडक, साढे तीन किलोमिटर आरसिसी, दुई किलोमिटर सडक कालोपत्र बनाउने कार्यक्रम थियो । यसैगरी विभिन्न १२ भवन निर्माण, कल्भर्ट, सिञ्चाइ बोरिङ २६ थान, पार्क एउटा, हाटबजार निर्माणको कार्य पनि अगाडि बढेको प्रमुख अधिकारीले बताए ।

नगरमा शहरी विकास आयोजनाअन्तर्गत २५ किलोमिटर सडक कालोपत्र, ६२ किलोमिटर नाला निर्माण, १० किलोमिटर फुटपाथ र दुई हजार बिरुवा पनि वृक्षरोपण भइसकेको छ । नगरका १३ वडामा २३ करोड तीन लाख ६२ हजार ७३ मा सडक निर्माण, कालोपत्र, नाला निर्माण, विभिन्न भवन निर्माणको काम भइरहेकको सो अवसरमा नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए ।

कार्यक्रममा सिद्धार्थ नगरपालिकाले अहिलेसम्म कोरोना भाइरस नियन्त्रणका लागि गरेको विभिन्न प्रयास र कार्यक्रमका बारेमा पनि जानकारी गराइएको थियो । नगरका सूचना अधिकारी देव ज्ञवालीका अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म एक करोड ३४ लाख १९ हजार ९६६ रकम जम्मा भएको छ ।

उक्त रकममध्ये नगरभित्रका मजदूरका लागि राहतका लागि चामल खरिदमा ५६ लाख एक हजार २८०, दाल खरिदका लागि १९ लाख ६५ हजार ९३६, तेल खरिदका लागि दुई लाख ८० हजार, नून खरिदका लागि तीन लाख ४६ हजार ३०२ खर्च भएको बताइएको छ ।

प्रतिक्रिया