८२ दिनपछि खुकुलो बन्यो लकडाउन, तर खुल्ने छैनन् यी क्षेत्र !
नेपाल खोज डेक्स,
काठमाडौँ । ८२ दिनको कडा बन्दाबन्दी (लकडाउन) पछि आजबाट मुलुक पूर्ण लकडाउन मुक्त भएको छ । सरकारले चैत ११ गतेबाट सुरु गरेको लकडाउनलाई ८ पटक म्याद थपेर जेठ ३२ गतेसम्म लम्ब्याएको थियो ।
त्यसपछि लकडाउनको म्याद नथपी सरकारले असार १ बाट खुकुलो बनाउने निर्णय गरेसँगै आजबाट मुलुक लकडाउनमुक्त भएको हो ।
लकडाउन खुले पनि सबै क्षेत्र र व्यवसाय भने अझै खुलेका छैनन् । आजबाट सरकारी कार्यालय, निजी सवारी साधनसहित २१ क्षेत्र खुले पनि कैयौं क्षेत्र अझै बन्द रहनेछन् ।
विद्यालय, कलेज, धार्मिक तथा सामाजिक स्थल, खेलकुदका गतिविधि, सपिङ मल, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, जिमखाना, हवाई उडानसहितका गतिविधि अझै २१ दिनसम्म बन्द नै रहने अर्थ र सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार लकडाउनको म्याद नथपिए पनि सबै क्षेत्र भने अहिले खुल्न पाउने छैनन् । क्रमशः परिस्थितिको मूल्यांकन गरेर लकडाउन खुकुलो बनाउँदै खोलिने उनले बताए ।
अझै खुल्ने छैनन् यी क्षेत्र
– शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)
– सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)
– सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल
– अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
– तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत
– सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन
– २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार
– सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
– स्विमिङ पुल, जिमखाना, साउना, स्टिमलगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर
– खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुती
– पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन
– बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन बन्द हुनेछन् ।
लकडाउन श्रृंखला
पहिलो स् चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म
दोस्रो स् चैत २५ सम्म
तेस्रो स् वैशाख ३ मध्यरातसम्म
चौथो स् वैशाख १५ मध्यरातसम्म
पाँचौँ स् वैशाख २५ मध्यरातसम्म
छैटौँ स् जेठ ५ मध्यरातसम्म
सातौँ स् जेठ २० मध्यरातसम्म
आठौँ स् जेठ ३२ मध्यरातसम्म
प्रतिक्रिया