बिहीबार, वैशाख १३, २०८१

सात प्रदेशमा खेलकुदका लागि १ अर्ब ५६ करोड रुपैंयाँ बजेट

नेपालखोज २०७७ असार २ गते १३:४१

काठमाडौँ । देशका सात प्रदेशले आगामी आर्थिक वर्षको लागि खेलकुदमा कम्तीमा १ अर्ब ५६ करोड रुपैंयाँ बजेट विनियोजन गरेका छन् ।

आर्थिक बर्ष २०७७–७८ का लागि प्रदेश १ सरकारले खेलकुद क्षेत्रको विकासका लागि ३० करोड रुपैयाँ बजेट विनियोजना गरेको छ ।

यसैगरी प्रदेश २ ले खेलकुदमा बजेट कती भनेर नतोकेपनि मलंगवा रंगशालाको स्तरोन्नतिलगायत केही भौतिक पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरेको बताएको छ ।

बागमती प्रदेशले खेलकुदका लागि ७९ करोड १३ लाख रुपैयाँ छुट्याएको छ ।

यसमा बहुबर्षिय र क्रमागत आयोजनाहरुको निरन्तरता एंव स्थानीय तहमा भएका खेल मैदान निर्माण गर्ने कार्य र खेलाडीको क्षमता विकासमा जोड दिने बताइएको छ ।

गण्डकी प्रदेशले खेलकुद विकासलाई प्राथमिकता दिंदै भौतिक पूर्वाधारतर्फ ८ करोड ४५ लाख विनियोजन गरेको छ ।

यसमा प्रदेश स्तरीय बहुउदेश्यीय रंगशाला, क्रिकेट रंगशाला, उच्च उचाई खेल मैदान, गल्फ कोर्ष, स्कीको तालिम केन्द्र र जिल्ला स्तरीय रंगशाला तथा एक स्थानीय तह एक खेल मैदान कार्यक्रम समेटिएका छन् ।

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन तथा खेलाडीलाई प्रशिक्षण शिर्षकमा १ करोड ५० लाख विनियोजन गरिएको छ ।

यसैगरी प्रदेश ५ सरकारले खेलकुदमा कम्तिमा १२ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

कर्णाली प्रदेशको बजेटमा युवा परिचालन र खेलकुद विकाशका लागि १५ करोड ६० लाख विनियोजना गरिएको छ ।

सुदूरपश्चिम प्रदेशले खेलकुद क्षेत्रका लागि विभिन्न शिर्षकमा ८ करोड ८५ लाख रुपैंया विनियोजन गरेको छ ।

प्रतिक्रिया