प्रशासन सेवाका ५ हजार अधिकृत ‘भद्र’ आन्दोलनमा
काठमाडौं । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभेदपूर्ण कानुन ल्याउन लागेको भन्दै प्रशासन सेवाका उपसचिव र अधिकृतसहित ५ हजार कर्मचारीले भद्र आन्दोलन थालेका छन् ।
सरकारले हाल छुट्टाछुट्टै सेवा समूहमा रहेका शिक्षा, आर्थिक योजना तथा तथ्यांक सेवा र विविध सेवालाई प्रशासन सेवामा गाभ्ने गरी संघीय निजामती सेवा विधेयकमा नयाँ प्रस्ताव तयार पार्ने गृहकार्य अघि बढाएपछि उपसचिव र अधिकृतहरू आन्दोलित बनेका हुन् ।
आन्दोलनमा सहभागी हुनेमा उपसचिव १ हजार ६३ जना र शाखा अधिकृत ३ हजार ९ सय ३६ जना छन् । उनीहरूलाई प्रशासन सेवाका सहसचिव र अधिकांश सचिवको सहानुभूति रहेको छ ।
अधिकृतहरूले आन्दोलनको पहिलो चरणअन्तर्गत सरकारको सो प्रस्तावविरुद्ध हस्ताक्षर अभियान थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले यसअघि प्रस्ताव गरिएका व्यवस्था हटाएर प्रशासन सेवाका कर्मचारीको वृत्ति विकासलाई ध्वस्त पार्ने गरी विधेयकमा नयाँ प्रस्ताव गरेपछि प्रशासन सेवाका कर्मचारीहरूले आन्दोलन कार्यक्रम अघि सारेका हुन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया