आइतबार, माघ १३, २०८१

बरामद गरेको सुन बाँडेर लैजाने प्रहरी निरीक्षकसहित चार जनाविरुद्ध मुद्दा दायर

नेपालखोज २०७७ असार ५ गते १६:२३

काठमाडौँ । अबैध रुपमा भित्रिएको साढे आधा किलोभन्दा बढी सुन हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी निरीक्षकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।

Advertisement

रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसहित चार प्रहरीविरुद्ध अख्तियारले पाँच सय ३२ ग्राम सुन हिनामिना गरेको अभियोगमा शुक्रबार विशेष अदातलमा मुद्दा दायर गरेको हो।

अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी सम्बन्धित निकायमा बुझाउनेको साटो चार जना मिलेर हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गत पुस ११ गते बरामद गरिएको चार सय २२ ग्राम र मंसिर २२ गते एक सय ११ ग्राम सुन चार जना मिलेर बाँडफाँड गरेको खुलेको छ।

प्रहरी हवल्दार रामशरण रिमालले ना६ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट कब्जा गरेको ४२२ ग्राम सुन लुकाएको र त्यसमा प्रहरी निरीक्षक नेपालको संलग्नता देखिएको अख्तियारले जनाएको छ।

रिमाललाई सुन लुकाउन मद्दत गर्ने प्रहरी हवल्दार रामकाजी लामा र उक्त सुन काण्डबारे जानकारी भएर पनि कतै खबर नगर्ने अर्का हवलदार पुरुषोत्तम खत्रीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

सुन बरामद गरिएको गाडीका चालक फुर्वा पासाङलाई छोडेको खुलेको छ।

अख्तियारले यस मुद्दामा प्रतिव्यक्ति २६ लाख ५२ हजार ५९ रुपैयाँ बिगो माग दाबी गरिएको छ।

यस्तै मंसिर २२ गते बरामद गरिएको एक सय ११ ग्राम सुन काण्डमा पनि प्रहरी निरीक्षक नेपालसहित चारै जनाविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियारका अनुसार नेपालले केरुङ्ग नाकाबाट आफैँ गएर नियन्त्रणमा लिएको गाडीमा भेटिएको एक सय ११ ग्राम सुन प्रहरी हवल्दारहरु लामा र खत्रीलाई बिक्री गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।

उक्त सुन पनि चारैजना मिलेर हिनामिना गरेको भन्दै अख्तियारले ६ लाख ७७ हजार पाँच सय ९९ रुपैयाँ बिगो माग दाबी गरेको छ।

सुन काण्डबारे अख्तियारमा उजुरी परेपछि नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

अख्तियारको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले उनीहरुलाई निलम्बन गरेको थियो।

प्रतिक्रिया