कोरियाबाट २२८ जना नेपाली काठमाण्डौ आइपुगे
काठमाडौँ । कोरियाबाट २२८ जना नेपाली आज काठमाण्डौ आइपुगेका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपालीहरु कोरियन एअरमार्फत स्वदेश फर्किएका हुन ।
कोरियन एअरको चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका नेपालीहरु आफ्नै खर्चमा फर्किएका हुन् । प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ ।
आजै यो जहाजबाट १६१ जना नेपाली कोरिया जाने भएका छन् । कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु मात्रै फर्कन लागेको ईपीएस कोरिया शाखाका अधिकृत बाबुराम घिमिरेले जानकारी दिए ।
यस्तै मलेसिया, कतार, साइप्रस, बंगलादेशबाट पनि आज नेपालीहरु स्वदेश फर्कंदै छन् । साइप्रस मलेसिया र कतारको दोहाबाट नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भर्नेछन् भने बंगलादेशबाट हिमालय एअरलाइन्सले नेपालीलाई ल्याउनेछ ।
प्रतिक्रिया