मंगलबार, वैशाख ११, २०८१

ट्रम्पद्वारा विदेशी कामदारलाई प्रवेशमा रोक, करिब साँढे ५ लाख विदेशी प्रभावित हुने !

नेपालखोज २०७७ असार १० गते १७:४८

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारको प्रवेश निलम्बन गरेका छन् । उनले सोमबार गरेको यस निर्णयले कोरोना भाइरसको महामारीका कारण संकटमा परेको अर्थतन्त्रलाई सहयोग पुग्ने दावी गरेका छन् ।

तर, व्यापारिक समूहहरुले भने सरकारको यस निर्णयको विरोध गरेका छन् । राष्ट्रपति ट्रम्पले केही ग्रिन कार्ड तथा विदेशी कामदारको भिसा यो वर्ष (२०२०) को अन्त्यसम्मका लागि निलम्बित गरेका हुन् ।

ट्रम्पको यस निर्णयले उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आय र उच्च तहमा रहेर काम गर्ने कार्यकारीहरु प्रभावित हुने अधिकारीहरुले बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा गम्भीर प्रभावित भएका अमेरिकीहरुलाई रोजगार प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

नयाँ नियमका कारण अमेरिकामा काम गर्ने करिब ५ लाख २५ हजार विदेशी प्रभावित हुने भएका छन् । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्डका प्राप्त गर्ने तयारीमा रहेका झण्डै १ लाख ७० हजार विदेशी कामदार छन् ।

प्रतिक्रिया