मोदी नेतृत्वको सरकारले ल्याएको तीनवटै कृषि कानुन सर्वोच्चद्वारा रोक

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको कृषि कानुनलाई भारतको सर्वोच्च अदालतले रोक लगाउने निर्णय गरेको छ ।
मंगलबार केन्द्र सरकारले ल्याएका तीन वटा कृषि कानुनविरुद्ध परेको रिटको सुनुवाइपछि प्रधानन्यायाधीश एसए बोब्डे, न्यायाधीशहरू एएस बोपना र भी रामासुब्रमण्यमको संयुक्त इजालसले आदेश नभएसम्मका लागि ती कानुनलाई निलम्बन गर्ने फैसला सुनाएको हो ।
त्यस्तै अदालतले आन्दोलनरत पक्षसँग वार्ता गर्नका लागि एउटा कमिटी पनि सिफारिस पनि गरेको छ ।
अदालत आफैले कृषि अर्थशास्त्री अशोक गुलाटी, हर्सिम्रत मान र प्रमोद जोशीलाई उक्त कमिटिका लागि सिफारिस गरेको छ । उक्त समितिले आन्दोलनरत किसानहरुसँग वार्ता गरेर रिपोर्ट तयार पार्नेछ ।
यसअघि सोमबार अदालतले केन्द्र सरकारलाई आन्दोलनरत किसानहरुसँग हालसम्मको छलफलबाट निराश बनेको र परिस्थिति बिग्रँदै गएका कारण विवादास्पद तीनवटा कृषि कानुन तत्काल स्थगन नगरे आफूले रोक्ने चेतावनीसमेत दिएको थियो । अदालतले किसान आन्दोलनप्रति सरकारले देखाएको व्यवहारप्रति असन्तुष्टिसमेत प्रकट गरेको थियो ।
सरकारले ल्याएको तीन वटा नयाँ कृषि कानुनको विरोधमा विभिन्न राज्यका किसानहरु विगत पाँच महिनादेखि आन्दोलन गर्दै आएका छन् । सरकारले ल्याएको नयाँ कृषि कानुन खारेज हुनुपर्ने र कृषि उपजको न्यूनतम समर्थन मूल्य(एमएसपी) निर्धारण गर्नुपर्ने उनीहरुको माग छ । सरकारले बेवास्ता गरेपछि गत ११ मंसिरदेखि पञ्जाब, राजस्थान, हरियाणालगायतका राज्यबाट आएका किसानहरु दिल्लीको सीमामा धर्ना दिएर बसेका छन् । यस अवधिमा हृदयघात, आत्महत्यालगायतका कारण चालीसभन्दा किसानहरुको ज्यान गइसकेको छ ।
प्रतिक्रिया