बिहीबार, वैशाख १३, २०८१

लकडाउनले धेरैलाई कृषिको महत्व बुझाएको छ

नेपालखोज २०७७ असार १४ गते १५:००

नेपालमा पछिल्लो समय कृषिको चर्चा र बहसको विषय बन्दै छ । कृषि विकास बैंकले यसलाई कसरी लिएको छ ?
जब कोरोना माहामारी शुरु भयो । सबै देशका उद्योग धन्दा बन्द भएका छन् । संसारभरिका मानिसले थाहा पाए कि प्राण धान्नको लागि लागि खाद्यान्न नै चाहिने रहेछ । यो समयले धेरैलाई कृषिको महत्व बुझाएको छ । नेपाल सरकारले यतिबेला दुई चिजलाई प्राथमितामा राखेको छ । त्यो भनेको एउटा औषधी र अर्को अन्न । पहिलो कुरा बाँच्नु नै रहेकाले कृषिलाई अबको मूल आधार बनाएर लैजानुपर्ने देखिन्छ ।

लगानीका हिसाबले कृषि विकास बैंकको जुन चर्चा छ । नागरिक वा सरकारले भनेजस्तो काम गरेको छ ? यस बैंकले कृषिमा मात्रै लगानी गर्छ वा अन्य क्षेत्रमा पनि लगानी गरेको छ ?
सुरुका दिनमा कृषि विकास बैंक कृषिमा नै लगानी गर्न स्थापना गरिएको हो । पछि बैंकले नेपाल सरकारबाट प्राप्त स्रोतहरु घट्दै गएपछि सर्वसाधारणको निक्षेप स्वीकार गरी प्रतिस्थापन हुन थालेको हो । जब प्रतिस्थापन हुन थाल्यो तब दुई किसिमबाट कारोबार गर्न थाल्यो । एउटा व्यापारिक र अर्को परम्परागत कृषि क्षेत्रमा । यो दुई पद्धतिसँगै सिंगो ऐन आयो । त्यसपछि यस बैंकले पनि अन्य बैंकजस्तै व्यापारी कारोबार गर्न थालेको छ । लगानीका हिसाबले यो बैंक प्रत्यक्ष वा अप्रत्यक्ष अझै पनि ८० प्रतिशत कृषिमा रहेको छ । कृषि क्षेत्र भनेको ज्यादै जोखिमपूर्ण क्षेत्र हो । घाम, पानी तथा असिनाले बिगार्छ । २–३ महिनाको बच्चालाई जसरी स्याहार गर्नुपर्छ त्यसरी नै यसलाई पनि स्याहार्नु पर्छ । त्यसको लागि विमा समिति, नेपाल राष्ट्र बैंक नेपाल सरकारलगायत सम्वन्धित निकायले उत्तिकै साथ दिनु आवश्यक छ ।

बैंक वित्तिय संस्थाहरु कृषिमा लगानी गर्न पहिले र अहिले पनि डराउने अवस्था छ नि ?
मैले पहिले पनि भनिसके कृषि क्षेत्र निकै संवेदनशील क्षेत्र हो । यस क्षेत्रमा हुने जोखिमबाट बच्न वा न्युनीकरणमा केन्द्रीय नीति कृषि विमा समितिले हेर्नुपर्छ । विमाले भविष्यमा हुने घाटा वा नोक्सानलाई बेहोर्नुपर्छ । अन्य राज्यले कृषिमा के कसरी लगानी वा अभ्यास गरेको छ त्यो हेर्न आवश्यक छ ।

कृषि विमाले पनि राहत दिन सकेको अवस्था त छैन ?
किसानले धेरै काम आफै गर्छन् । राज्यले कृषकलाई सेवा सुविधा नदिने हो भने उनीहरु पलायन हुने अवस्था आउछ । त्यसैले लागत मुल्य भन्दा २० प्रतिशत बढी सुनिश्चितता दिनुपर्छ । त्यसपछि कृषक आफ्नो लगानीमा निर्धक्क हुनुपर्ने वातावरण बन्दै जान्छ ।

नेपालको अहिलेको अवस्थामा मुल्यको सुनिश्चितता हुन सकेको अवस्था पनि त छैन नी ?
हिजो हामीले के–के गर्यौं, गरेनौं भन्दा पनि अब राम्रो र व्यवस्थित संयन्त्र खडा गर्नुपर्छ । पाइलटिङ गर्ने, उपलब्धि अध्ययन गर्ने र अन्य देशमा कृषिमा भएका राम्रा कार्यहरुलाई अभ्यास गर्दै जानुुपर्छ । कृषिमा हुने घाटालाई कसरी न्यूनीकरण गर्ने त्यो मोडल अपनाउनुपर्छ ।

लकडाउन पछिको अवस्था हेर्दा अब हामी कृषिमा आत्मनिर्भर नभई विकल्पै छैन । त्यसो हो भने अव कृषि विकास बैंकको रणनीति के हुन्छ ?
नेपाल सरकारको बजेट कृषि क्षेत्रमा अधिकेन्द्रित भएको देख्छु । भुमी व्यवस्थापन, सिचाई, स्थानीयक्षेत्रको विकास गर्ने, गाँउ–गाँउमा कृषि विज्ञ पुर्याउने, मल, बिउबिजनका कुराले कृषि क्षेत्रमा बजेट अधिकेन्द्रित छ । तर, कार्यन्वयनमा फितलो भयो भने उत्पादन र उत्पादकत्वमा असर पर्छ । १४ अर्ब सरकारले कृषिलाई छुट्याएको छ । बजेटको कारणले रोकिने अवस्था छैन जिम्मेवार निकायले सहि ढंगले काम गरे पुग्छ ।

कृषि क्षेत्रमा तपाइको लामो अनुभव पनि छ । लकडाउनले धेरै युवा स्वदेश फर्कंदैछन् अव युवाशक्तिलाई कृषिमा जोडेर लैजाने सम्भावना कत्तिको देख्नुभएको छ ? नेपाल सरकारको अबको कृषि नीति कस्तो हुनुपर्छ ?
हाम्रो देश बाँच्न र बचाउन मात्र होईन । कृषिप्रधान भएपनि कृषिले नै सबैलाई रोजगार दिन सक्छ भन्ने भ्रम चाहिँ हुन भएन । संकट व्यवस्थापनको समयमा हामीले कृषिमा अलिकति फट्को चाहिँ मार्नैपर्छ । हामी कृषि मात्र नभएर पर्यटन व्यवसायलगायत अन्य क्षेत्रबाट पनि निर्भर हुन सक्छौं । हामीले कृषिमा आत्मनिर्भर हुने वा आयात नगर्ने अवस्थासम्म पुग्नुपर्छ । त्यसको आधार बन्दैछ ।

कोरियामा तिन प्रतिशतले मात्रै कृषिमा काम गर्छन् । हामी नेपाली ६५ प्रतिशत कृषिक्षेत्रमा र्छौ र पनि आश्रित हुनुपर्ने अवस्था किन छ ?
यसको मुख्य कारण कृषिलाई आधुनिकीकरण गर्न नसक्नु नै हो । कृषिमा सक्रिय जनशक्ति नहुनु हो । अर्को महत्वपूर्ण पक्ष कपाल काट्ने, डकर्मी काम गर्ने, टायल लगाउने जस्ता जनशक्ति नेपाल भित्र ज्यादै कम छन् । यो क्षेत्रमा हामीले हाम्रै युवालाई लगाउनुपर्छ । यसले गर्दा हाम्रो स्रोत र साधन बाहिरिनबाट जोगिन्छ । हामीसँग रोजगारका धेरै क्षेत्र छन् तर त्यसमा हामीले युवालाई काममा लगाउन सकिएको छैन । जसले गर्दा रोजगार गुमाईरहेका छौं । जसले भुक्तानी सन्तुलनमा असर गरेको छ । अब बजारमा आएको जनशक्तिलाई यस्ता रोजगारमा आकर्षण गर्नुपर्छ ।

सम्पुर्ण क्षेत्रलाई बाँडफाँड गर्दै कृषिलाई पनि आधुनिकीकरण गर्यो भने हामी आत्मनिर्भर हुन सक्छौ ?
कृषिलाई मात्र होईन मुलुकलाई आधुनिकीकरण गर्नुपर्छ । रहनसहन, खानपान, सुरक्षा, राज्यले दिने सेवा, बैंकिङलगायत सबै क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ । सबै मर्यादित हुनुपर्छ ।

प्रतिक्रिया