शुक्रबार, वैशाख ७, २०८१

विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै बढी

नेपालखोज २०७७ असार १६ गते ६:५७

काठमाडौँ । विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै बढी भएको छ। नेपाल राष्ट्र बैंककाअनुसार चालू आर्थिक वर्षको ११ महिना (जेठ) सम्ममा विदेशी मुद्राको सञ्चिति ११ अर्ब अमेरिकी डलर नाघेको छ।

आयातमा आएको कमी र रेमिट्यान्समा भएको वृद्धिदरका कारण विदेशी मुद्रा सञ्चिति बढेको हो। गत आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा चालू आर्थिक वर्षको ११ महिनासम्ममा जम्मा ११ खर्बको हाराहारीमा मात्र आयात भएको भन्सार विभागले जनाएको छ। गत वर्षको सोही अवधिमा १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ बराबरको आयात भएको थियो।

‘अब एक महिनामा धेरै आयात भएमा १ खर्बको हाराहारीमा मात्र होला, तर २ खर्ब १९ अर्ब रुपैयाँ बराबरको आयात गत वर्षको तुलनामा नै कमी भयो। कोभिड १९ का कारण आयातमा कमी हुँदा विदेशी मुद्रा सञ्चिति वृद्धि भएको हो। यो अहिलेसम्मकै धेरै हो,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने।

आयातीत सम्पूर्ण सामग्रीको भुक्तानी डलरमा गरिने हँदा यसअघि विदेशी मुद्राको सञ्चितिमा बढी चाप पर्ने गरेको थियो। प्रवक्ता भट्टकाअनुसार नेपालमा सोचेजस्तो गरी कोभिड १९ को रेमिट्यान्समा नकारात्मक असर पनि परेन् ।

उनले भने, ‘हामीले कोभिड १९ को असर कम्तीमा १० प्रतिशत पर्ला भन्ने अनुमान गरेका थियौं। कतिपयले त ५० प्रतिशतसम्म नै असर पर्ने सम्भावना देखाएका थिए तर परिणाम उल्टो आयो।’

गएको चैतमा झन्डै ३४ अर्ब रेमिट्यान्स भित्रिएकोमा वैशाखमा ५४ अर्ब र जेठमा झन्डै ६४ अर्बको हाराहारीमा रेमिट्यान्स नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको जेठ महिनामा झन्डै ७० अर्बको हाराहारीमा रेमिट्यान्स नेपाल भित्रिएको भट्टले जानकारी दिए।

प्रतिक्रिया