शनिबार, जेठ ५, २०८१

‘वित्तीय अनुशासनमा ध्यान दिनु आवश्यक छ’

नेपालखोज २०७९ असार ४ गते २०:५१

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैकर्स एसोसिएसन नेपालको सहयोगमा पुँजीबजारका लगानीकर्ताहरूलाई सचेत गराउने उद्देश्यले शनिबार आयोजित सचेतना कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले देशका सातै प्रदेशमध्ये कर्णालीले अघिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट घटाएर ल्याएको बताए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनमा विशेष जोड दिएको पनि बताए ।

मुख्यमन्त्री शाहीले बजेटले अधिकांश पुराना योजनालाई सम्पन्न गर्न जोड दिएको तथा नयाँ ५ प्रतिशत योजना मात्रै अघि सारेको उल्लेख गरे । पुँजीबजारमा लगानीकर्ता कम रहेको कर्णालीमा पुँजीबजारबारे सचेतना वृद्धि गर्नु सम्बद्ध निकायहरूले ध्यान दिनु आवश्यक भएकामा मुख्यमन्त्रीले जोड दिए ।

उनले नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पुँजीबाट लगानीको सुरुवात गर्न लगानीकर्ताहरूलाई आग्रह गरे । संघीयताको भावनालाई हामीले अझै पनि बुझेका छैनौं भन्दै मुख्यमन्त्री शाहीले संघीयतालाई बलियो बनाउन पनि पुँजीबजारले सहयोग गर्ने उल्लेख गरे ।

नेपाली समाजमा वित्तीय अनुशासन कमजोर भएको उल्लेख गर्दै, लगानीकर्ता, बैकरहरू तथा व्यवसायीहरूले वित्तीय अनुशासनमा ध्यान दिनु आवश्यक भएकामा मुख्यमन्त्री शाहीको जोड थियो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरूको संख्या लगानीकर्ता साक्षरताको अवस्था भने कमजोर रहेको बताए । देशव्यापी रूपमा पुँजीबजार सचेतना वृद्धिका लागि नेपाल धितोपत्र बोर्डले सम्बद्ध निकायहरूसँगको सहकार्यमा विभिन्न कार्यक्रम अघि बढाएको अधिकारीले बताए ।

उनले लगानी गर्दा हतारमा नगरी कम्तीमा पनि दुई वर्षसम्म पर्खिने गरी लगानी गर्ने कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न लगानीकर्ताहरूलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुरले शाहीले कर्णाली प्रदेशमा रहेका सेयर बजारका लगानीकर्ताहरूलाई सचेत गर्न सचेतनासम्बन्धी कार्यक्रमको आवश्यकता रहेकामा जोड दिए । सेयर बजारको विकासका लागि राज्यले प्रभावकारी नीतिगत व्यवस्थामा सुधार गर्नु आवश्यक रहेको बताए । उनले सचेतनता कार्यक्रमले कर्णालीका लगानीकर्ताहरूलाई हौसला प्राप्त भएको बताए ।

नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशका उपाध्यक्ष विष्णु खड्काले उद्योगधन्दा निराशाजनक अवस्था रहेका बेला पुँजीबजारमार्फत औद्योगिक लगानीका लागि पुँजी संकलन गर्न सेयर बजारलाई प्रभावकारी औजारका रूपमा अघि बढाउनु आवश्यक भएकामा जोड दिए ।

हामीले अवलम्बन गरेको आर्थिक नीतिको कारण नेपाल स्वावलम्बीभन्दा आयातमुखी अर्थतन्त्रको नकारात्मक असर परेको बताए ।

कार्यक्रममा नेपाल मचेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले देशभर पुँजीबजारका लागनीकर्ताहरूबीच सचेतना अभिवृद्धिका लागि नेपाल आर्थिक पत्रकार संघसँगको सहकार्य सचेतना कार्यक्रम सञ्चालन गरेकाले त्यसबाट लाभ दिन लगानीकर्ताहरूलाई आग्रह गरे ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले संघीयताको प्रवर्द्धन गर्न सचेतना कार्यक्रमले सहयोग गर्ने तथा देशभर छरिएर रहेको पुँजीको संकलनका लागि एउटा महत्त्वपूर्ण माध्यम बन्ने बताए ।

प्रतिक्रिया