कोरोना रोकथाममा सरकारलाई कांग्रेसको ध्यानाकर्षण
काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारी गर्ने विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर सो ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टाइन व्यवस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था, स्वास्थ्य सामाग्री खरिद प्रक्रियालाई पारदर्शी बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ ।
कांग्रेसको सहयोग, सञ्चार माध्यमको खवरदारी, नागरिक समाजले मिलाईदिएको अनुकूलताको बावजुद पनि सरकारले काम गर्न नसक्दा जनजीवन कष्टकर हुँदै गएको आरोप लगाएको छ ।
भेटमा मन्त्री ढकालले सरकारले कोभिड–१९को संक्रमण रोकथाम र उपचारमा सक्दो प्रयास गरिरहेको, विदेशबाट आउने नेपालीको सङख्या विस्तारै कम हुँदा क्वारेन्टाइन व्यवस्थापनको चुनौती पनि कम हुँदै गएको र आरडीटी परीक्षणलाई निरुत्साहित गर्दै लगिएको बताएका थिए । साथै, उनले पीसीआर परीक्षण हाल दैनिक ८ हजार क्षमता भएको र केही दिनमा दैनिक १० हजार गरिने जानकारी गराए ।

प्रतिक्रिया