शुक्रबार, वैशाख १४, २०८१

साम्राज्ञी र भुवन बिचको विवाद छताछुल्ल, साम्राज्ञीविरुद्ध उजुरी

नेपालखोज २०७७ असार १८ गते १७:३३

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक भुवन केसी बिचको विवाद अहिले चलचित्र क्षेत्रमा छताछुल्ल भएको छ । सामाजिक सञ्जालमा उनीहरुको बहस नै चलिरहेको छ । एक अर्काबिच आरोप प्रत्यारोप लगाइरहेका छन् ।

विवादकै बिच नायक भुवन केसीले नायिका साम्राज्ञीलाई अब पनि विभिन्न आरोप लगाइ भिडियो बनाएर सामाजिक सञ्जालमा हाले मानहानी सम्बन्धी कानुनी कारवाहीको प्रक्रिया चाल्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘तपाईंले यस्ता झुटा लान्छना लगाउने कार्यहरु गरेरगराएमा तपाईँ उपर साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रयोग गरी तपाईंबाट यथोचित क्षतिपूर्ति गराउने र तपाईंलाई कानुन बमोजिमको सजायको भागेदारी गराउनका निमित्त आवश्यक कानुनी प्रक्रियाको थालनि गर्ने ब्यहोरा तपाईंलाई बडो दुःखका साथ जानकारी गराउँदछु ।’

साम्राज्ञीले झुटो आरोप लगाएको नायक केसीको दाबी छ । ‘करिब ६ वर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भइ सुपरहिट भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन, छाता ओढ्न पाइन, सूबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्षपछि म लगायत अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आश्चर्य लागेको छ,’ नायक केसीको भनाइ छ ।

४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्र क्षेत्रमा रात दिन कार्यरत रहेर हासिल गरेको मान प्रतिष्ठामा साम्राज्ञीका कारण आघात पुगेको उनले बताएका छन् ।

नायक केसीले कलाकार संघमा साम्राज्ञीविरुछ उजुरी समेत दिइसकेका छन् । उनले बिहीबार कलाकार संघमा आफ्नो चरित्र हत्या भएको र झुटा आरोप लगाइएको भन्दै उजुरी दिएका हुन् ।

केही दिनयता देखि सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञीले म विरुद्ध विभिन्न आक्षेप, आरोपहरु लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने किसिमका कुराहरू व्यक्त गरेको देखिएकाले सो सम्बन्धमा आवश्यक छानविन गर्नका लागि संघको आजिवन सदस्य भएकाले निवेदन गरेको छु,’उजुरी पत्रमा भनिएको छ।

प्रतिक्रिया