शुक्रबार, वैशाख ७, २०८१

पटक–पटकको सर्किट ब्रेकपछि शेयर कारोबार बन्द

नेपालखोज २०७७ असार १८ गते १७:४२

काठमाण्डौँ । आज ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८० दशमलव ४१ अङ्कले घटेर नेप्से एक हजार दुई सय ५६ दशमलव ११ अङ्कमा बन्द भएको हो ।

सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात् १७ दशमलव ९९ अङ्कले घटेर २ सय ६९ दशमलव ०३ अङ्कमा बन्द भएको छ । आज एक सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको एक लाख ६१ हजार आठ सय ९० कित्ता शेयर खरिद बिक्री भएको छ ।

बजार खुलेको तीन मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो ।

दोस्रो पटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरि ५ प्रतिशतले नेप्से घटेपछि दोस्रो पटक पुनः सर्किट ब्रेक लागेको थियो । फेरि १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको हो ।

बजारमा कारोबारमा आएका समूहमध्ये म्युचल फण्डबाहेकका सबै समूहका सूचकहरु घटेका थिए । बैंकिङ समूह ७ दशमलव ४३ प्रतिशतले घटेको छ । जीवन बीमा ७ दशमलव ६७ प्रतिशत घटेको छ ।

होटल समूहमा भने सबैभन्दा धेरै ८ दशमलव ६९ प्रतिशतले गिरावट आएको छ । सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यी दुवै कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया