शुक्रबार, वैशाख १४, २०८१

निजी विद्यालयका शिक्षक आन्दोलनमा, रोकिएको तलब पाउनुपर्ने माग

नेपालखोज २०७७ असार १९ गते २०:२४

काठमाडौँ । निजी विद्यालयका शिक्षकहरुले आज देशभर विरोध प्रदर्शन गरेका छन् । पठनपाठन पुर्णरुपमा सञ्चालन नहुँदा गत वर्षको फागुन महिनादेखि नै धेरै शिक्षकहरुले पारिश्रमिक पाउन सकेका छैनन् । सरकारले आफूहरुको समस्यालाई वेवास्ता गरेको भन्दै कोरोना महामारी संक्रमणको त्रासमै आजदेखि देशैभर विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्तु)का महासचिव भोला रिजालले आजको प्रदर्शनपछि पनि आफुहरुको माग सरकारले सम्वोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कुनैपनि हालतमा बालबालिकाको पठनपाठन सुचारु गर्नुपर्ने माग राखेका उनीहरुले रोकिएको तलव पाउनुपर्ने, विभिन्न बहानामा अहिले भइरहेको शिक्षकहरुको अवकास रोक्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आफुहरुलाई सूचिकृत गर्नुपर्ने माग राखेका छन् । विद्यार्थीवाट लिइने शुल्क एक मात्रै श्रोत रहेको निजी विद्यालयमा सरकारले कुनै सम्बोधन नगर्दा आफुहरु मारमा परेको र आफुहरुको विषयमा बोलिदिने कोही नभएको झापा मेचिनगरस्थित इष्ट होराइजनमा कार्यरत शिक्षक प्रेमनारायण डांगीले गुनासो गरे ।

निश्चित तलबमा कार्यरत शिक्षक तथा कर्मचारीहरु लामो समय विद्यालय बन्द हुँदा र हाल वैकल्पिक माध्ययमबाट पठनपाठन सुचारु भएपनि पूर्णरुपमा विद्यालय सञ्चालनमा नआउँदै शुल्क उठाउन नहुने भन्दै चौतर्फीरुपमा विरोध हुन थाले पछि उनिहरु अझ मारमा परेका हुन् ।
सरकारले निजी विद्यालयहरुलाई सौतेनी व्यवहार गरेको भन्दै विद्यालय सञ्चालन गर्ने अवस्था नै नभएको र विद्यालय प्रशासन पनि मारमा हुँदा आफुहरु बोल्न सक्ने स्थितिमै नभएको भन्दै फेरी पनि सरकारलाई गुहार्नुको विकल्प नरहेको कस्मिक इन्टरनेसनल एकेडेमी कोटेश्वरका शिक्षक खगेन्द्र गुरागाईले बताए ।

निजी विद्यालयहरुमा करिब २ लाख शिक्षक तथा अन्य कर्मचारी कार्यरत रहेको संस्थागत विद्यालय शिक्षक युनियन इस्तुले जनाएको छ । कोरोना महामारीका कारण शिक्षा क्षेत्र सञ्चालन नहुँदा विद्यार्थी त मारमा परेका छन् नै निजी विद्यालय पूर्णरुपमा नखुल्दा त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरु पनि मारमा छन् ।

प्रतिक्रिया