मंगलबार, वैशाख ११, २०८१

काठमाडौं महानगरको नीति तथा कार्यक्रममा सम्पदा

नेपालखोज २०७७ असार २० गते ७:२४

कोभिड–१९ का कारण मुलुकको अर्थ व्यवस्थामाथि गम्भीर असर पुगेको छ । यस महामारीबाट काठमाडौं महानगरपालिका पनि अछुतो रहन सकेको छैन । उद्योग, व्यापार व्यवसाय प्रभावित भएका छन् भने सबै विद्यालय, शैक्षिक संस्थाहरु बन्द भएको १०० दिन कटिसक्यो । कोरोना रोकथामका लागि सरकारले लकडाउन जारी गरेपछि धेरैले रोजगारी गुमाएका छन् भने विकास निर्माणका कार्यहरु पनि सोचेअनुरुप अघि बढ्न सकेको छैन ।

कोरोनाका कारण सबै क्षेत्रहरुमा परेका असरलाई न्यूनीकरण गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित गरेको छ भने आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट पनि प्रस्तुत गरिसकेको छ ।

बजेटको नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र यसबाट पर्ने आर्थिक एवं सामाजिक असर न्यूनीकरणका लागि जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्धन, आवागमन व्यवस्थापनलगायतका विषयलाई प्राथमिकता दिएको छ । यसका साथै कृषि, पर्यटन प्रवद्र्धन संस्कृति तथा सम्पदा संरक्षणका विषयलाई पनि प्राथमिकता दिइएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र विश्व सम्पदा सुचिमा सुचिकृत भएका ४ वटा सम्पदाहरु रहेका छन् । पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा, हनुमानढोका दरबार स्क्वायर क्षेत्र र स्वयम्भुनाथ । यसका अलवा मौलिक परम्परा झल्कँने मूर्त–अमूर्त सम्पदाको संरक्षण तथा सम्वद्र्धन कार्यमा महानगरपालिका निरन्तर क्रियाशील छ । २०७२ सालको भुकम्पमा क्षतिग्रस्त भएको हनुमानढोका दरबार क्षेत्रमा रहेका सम्पदाहरुको पूर्ण निमार्णको काममा काठमाडौं महानगरपालिकाले निरन्तरता दिँदै आएको छ । हनुमानढोका दरबार क्षेत्रमा पर्ने काष्ठमण्डपको पूनर्निर्माणको काम आगामी आर्थिक वर्षमा सम्पन्न हुने काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ । यसका साथै धरहरा पुनःनिर्माण कार्य दु्रतगतिमा अगाडि वढिरहेको छ भने रानीपोखरीको पुनर्निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने बताईएको छ । भुकम्पले क्षति पु¥याएको दरबार हाइस्कूल भवनको पुनर्निर्माण कार्य भने सम्पन्न भईसकेको छ ।

काठमाडौं महानगरपालिकाले हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदा पदमार्गको विकास, संरक्षण र सम्वद्र्धनका लागि बृहत गुरुयोजना तयार गरी कार्यान्वयन सुरु गरिसकेको छ । सम्पदा पदयात्राले उक्त क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाहरुको प्रवद्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पु¥याउने, आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मूल्य मान्यता बारे जनमानसमा चेतना अभिवृद्धि गर्ने विश्वास लिईएको छ ।

त्यसैगरी ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण रहेका कमलपोखरी, शंखपार्क, कोटेश्वर महादेवस्थान र चेसपार्क संरक्षण र सम्वद्र्धन कार्य पनि अघि बढिसकेको छ । साथै शोभाभगवती, ईन्द्रायणी, गहनापोखरी, म्हेपि, राजकृति महाबिहार, पलेस्वाँ पुखु र कंकेश्वरीको गुरुयोजना तयार भई कार्यान्वयन शुरु गरिएको छ ।

स्वयम्भू स्तुपा भजनघर आदि पुनःनिर्माण सम्पन्न भइसकेका छन् भने सत्यनारायण मन्दिर, लयाश्वर मन्दिर, देवी नाच द्यो छें, कोटेश्वर महादेवस्थानमा भगवती मन्दिर, जनबाहा दिगी छें, किलाघः त्वाःछें, न्हय्मु त्वाःछें, वटु भद्रकाली मन्दिर, भगवान बहाल, गोरखनाथ मन्दिर परिसर, पञ्चेधारा, टेबहालस्थित क्वाःपा द्यो छें, क्वःहिटी सत्तल तथा बहाल, मणीसंघ महाविहार, दिही प्याखं द्यो छें, परम्परागत लायकु सा गुठी भवन, नाट्येश्वरी गुठी भवन, नित्यनाथ गुठी भवन, लखतीर्थ परिसर आदिको पुनःनिर्माण कार्य महानगरपालिकाले अगाडि बढाएको छ ।
विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीमा गुरुयोजनाअन्तर्गत नेपाल बज्रयान महाबिहारमा मौलिक परम्परागत प्रवेशद्वार, झ्याल तथा टुँडाल निर्माणको लागि नेपाल परम्परागत बौद्ध धर्म संघलाई, धम्महल भवन निर्माणको लागि अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र बुद्धनगरलाई र भवन निर्माणको लागि बागबजारस्थित बुद्धबिहारलाई महानगरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

काठमाडौंको ऐतिहासिक एवं सांस्कृतिक पर्व ईन्द्रजात्राको अवसरमा महानगरको भगिनी सम्बन्ध भएका विभिन्न अन्तर्राष्ट्रिय शहरहरुका मेयर तथा विशिष्ठ पाहुनालाई आमन्त्रण गरी ईन्द्रजात्रा पर्वलाई अन्तर्राष्ट्रियकरण गरिएको छ । ईन्द्रजात्रा पर्वलाई संस्थागत र दिगो रुपमा सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको २ करोड, नेपाल सरकारको १ करोड ५० लाख, प्रदेश सरकारको १ करोड र गुठी संस्थानको ५० लाख गरी ५ करोडको अक्षय कोष स्थापना गरिएको छ । ईन्द्रजात्राबारे विस्तृत खोजमूलक दस्तावेज प्रकाशनको अन्तिम चरणमा रहेको निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुको उच्च सम्मान गर्ने उद्देश्यले सिफलमा सहिद धर्मभक्त माथेमाको, शोभा भगवतीमा सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको पूर्णकदको सालिक प्रतिस्थापन गर्ने कार्य सम्पन्न गरेको छ ।

कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल होटल संघ, रेष्टुरेण्ट तथा बार संघ तथा अन्य सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गरिनेछ । आन्तरिक पर्यटन प्रबद्र्धन गर्न विशेष कार्यमूलक योजना बनाई कार्यान्वयन गरिनेछ । यसको शुरुवात ठमेल र बसन्तपूर क्षेत्रबाट हुनेछ । उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरु जोड्नेगरी विद्युतीय बस सञ्चालन गरिनेछ ।

वसन्तपुर दरबार क्षेत्र तथा वरिपरिका मन्दिरहरुमा लाइटिङ्ग सिष्टम जडान गरी सन्ध्याकालीन साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिनेछ । ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका टोल, बस्ती, मठ, मन्दिर, बहाल बही, चुक÷ननी, लाछी जस्ता मूर्त तथा रितीरिवाज, भाषा, लिपी, संस्कृति, जात्रा, परम्परा जस्ता अमूर्त सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्ने नीति लिइनेछ ।

कार्यनीति :
महानगर क्षेत्रभित्र रहेका मूर्त अमूर्त सम्पदाहरुको ऐतिहासिक, धार्मिक, साँस्कृतिक विवरणसहितको तथ्याङ्क संकलन तथा डिजिटल अभिलेखिकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थान तथा सम्पदाहरुको मौलिक एवं प्राचीन नामको खोजी गरी पुनस्र्थापना गरिनेछ । साथै आधिकारिक नामाकरण हुन बाँकी टोल, सडक, मार्ग, चोक आदिको नामाकरण गर्नुपर्दा महानगरपालिकाको स्वीकृति अनिवार्य लिनुपर्ने ब्यबस्था गरिनेछ ।

ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका सांस्कृतिक सम्पदा क्षेत्र तथा सम्पदा मार्गहरुको बृहत्तर विकास योजना बनाई क्रमबद्ध कार्यान्वयन गरिनेछ । विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रभित्रको भण्डारखाल परिसरको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँग आवश्यक सहकार्य गरिनेछ ।

हाँडीगाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसन्धान गरिनेछ । काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक सेतो मच्छिन्द्रनाथको जात्राबारे विस्तृत अनुसन्धान गरी दस्तावेज प्रकाशन गरिनेछ । दक्षिण कोलिग्राम तथा कोलिग्रामको बुद्धकालीन सभ्यता अध्ययन अनुसन्धान गरी संरक्षण तथा सम्बद्र्धन गरिनेछ । दक्षिण कोलिग्राम क्षेत्रलाई खुल्ला संग्रहालयको रुपमा विकास गरिनेछ ।
काठमाडौं महानगरको इतिहास, संस्कृति, मौलिक परम्परा समेटी तस्वीर, चित्रकथा, श्रव्यदृश्य सामाग्री निर्माण गरिनेछ । साथै विभिन्न स्थानहरुमा कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्ते चित्र राखिनेछ ।

महानगरपालिकाभित्र उपयुक्त भवनलाई सिटी आर्टस् म्युजियममा रुपान्तरण गरी अध्ययन तथा पर्यटकीय स्थलको रुपमा प्रबद्र्धन गर्न पहल गरिनेछ । साथै नेवा सांस्कृतिक भवन तथा म्यूजियम बनाउन अध्ययन गरिनेछ । सम्पदा पुनःनिर्माणका कार्यहरुलाई विशेष प्राथमिकताका साथ अगाडि बढाईनेछ । काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ । हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार यसै वर्ष सुरु गरिनेछ ।

काठमाडौं उपत्यकाको सम्पदाको रुपमा रहेको बागमती, विष्णुमती, धोबीखोला, सामाखुशी, ईच्छुमती, मनोहरा लगायतका नदीनालाहरुलाई अतिक्रमण मुक्त गरी सफा र सुन्दर बनाइनेछ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदीनालाको सरसफाई र संरक्षणको उचित व्यवस्था गरी नदीलाई मानव सभ्यता र सौन्दर्यतासँग आबद्ध गरिनेछ ।

त्रिपुरेश्वरदेखि टेकुसम्मको वागमती किनारालाई श्री हुतराम बैद्य स्मृति पैदलमार्गको रुपमा विकास गरिनेछ । साथै पचली कालोपुलदेखि टेकु दोभानसम्मको नदी किनारालाई श्री भगवानदास मानन्धर स्मृति स्थलको रुपमा विकास गरिनेछ । थापाथली पुलदेखि शंखमूलसम्मको नदी किनारालाई हरियाली तथा खुला क्षेत्रको रुपमा विकास गरिनेछ ।

काठमाडौं महानगरभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष योगदान गर्नुभएका विभिन्न परम्परागत बाजाहरु सिकाउने गुरुहरुको योगदानको कदर गर्दै विशेष सुविधासहित सम्मान गर्ने कार्यलाई निरन्तरता दिईनेछ । साथै समुदायमा आधारित सामाजिक गुम्बाको सञ्चालन गरी सत्मार्गमा लाग्न जनमानसलाई प्रेरित गर्ने प्रमुख लामाहरुलाई समेत सम्मान गरिनेछ । प्रसिद्ध गायिका तारादेवीको स्मृतिमा स्थापित तारादेवी प्रतिष्ठानको अक्षयकोष बृद्धि गरिनेछ ।

काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको बालाजु बाईसधारा उद्यानको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ । महानगरपालिका क्षेत्रभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु स्वयम्भु र बौद्धको व्यवस्थापन महानगरपालिकाअन्तर्गत ल्याउन पहल गरिनेछ । हनुमानढोका परिसर तथा कोत क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।

ललितपुर महानगरपालिका तथा गोदावरी नगरपालिकाको सहकार्यमा “नयाँ ललितपत्तनम्” नामको ‘आर्टस् एण्ड क्राफ्ट सिटी’ निर्माण प्रक्रिया सुरु गरिनेछ । मौलिक बस्तीमा सम्पदा भवनहरुको संरक्षण तथा निर्माणको लागि मापदण्ड तयार गरी सो को आधारमा अनुदान तथा छुट दिने नीति लिइनेछ ।

भद्रकाली मन्दिर र महांकाल मन्दिर परिसरको विकास, मर्मत सम्भार तथा जीर्णोद्वार गरिनेछ । रानीपोखरी र शंखधर पार्क समेटी एकिकृत पार्क विकास गरिनेछ । शंखधर पार्क क्षेत्रमा हरियाली कायम गरी अत्याधुनिक अवलोकन स्थल निर्माण गरिनेछ ।

न्युरोड क्षेत्रको एकिकृत विकास तथा सौन्दर्यीकरण गरिनेछ । काठमाडौ महानगर प्रवेश गर्ने स्थानहरुमा कलात्मक स्वागतद्वार वा स्तम्भहरु निर्माण गरिनेछ । त्यसैगरी मल्लकालीन काठमाडौ नगर प्रवेशद्वार (ध्वाखा)को पहिचान गरी नयाँ निर्माण, जिर्णोद्वार वा अवशेषको संरक्षण गर्ने कार्य गरिनेछ ।

स्थानीय मौलिकता झल्कने गरी घरको नयाँ निर्माण गर्न वा मोहडा परिवर्तन गर्न चाहनेहरुलाई आवश्यक मापदण्ड तयार गरी अनुदानको ब्यबस्था गर्ने कार्य सुरु गरिनेछ । हनुमानढोकादेखि स्वयम्भू जोड्ने सम्पदा मार्ग तथा सवारी साधनमुक्त क्षेत्रमा परेका पुराना वस्तीका निजी भवनलाई व्यावसायिक आर्ट ग्यालरी, कफी सप, पुस्तक पसल, होमस्टे वा पर्यटनसँग सम्बन्धित व्यवसाय गर्ने उद्देश्यले परम्परागत शैलीमा पूरै भवन पुनर्निर्माण वा जीर्णोद्वार गर्न चाहने घरधनीहरुलाई कार्यविधिको आधारमा थप सहुलियत कर्जाको प्रबन्ध गरिनेछ ।

प्रतिक्रिया