शुक्रबार, जेठ ४, २०८१

घट्दै छ पुरुषको प्रजनन क्षमता

नेपालखोज २०७८ साउन २२ गते २०:२१

काठमाडौं । अमेरिकामा हरेक आठमध्ये एक दम्पती बाँझोपनको सिकार भएको बताइन्छ । दुर्भाग्यपूर्ण कुरा के छ भने रिप्रोडक्टिभ मेडिसिनमा विशेषज्ञता हासिल गरेका चिकित्सकले पनि तीमध्ये ३० देखि ५० प्रतिशत केसमा पुरुषहरुको बाझोपनको कारण पत्ता लगाउन सक्दैनन् ।

बाँझोपन पुष्टि भएपछि प्राय: सबैजसो दम्पतीले लगभग एउटै प्रकारको प्रश्न सोध्छन्- ‘के कामले, मोबाइल फोन तथा ल्यापटपले वा प्लास्टिकले बाँझोपन गराउँछ ? अहिले बाँझोपनको सिकार अमेरिकी पुरुषहरु आफ्नो प्रजनन स्वास्थ्यलाई लिएर चिन्तित मात्र छैनन् उनीहरुसँग एउटा गम्भीर र हालसम्म अनुत्तरित प्रश्न पनि छ- के हाम्रो पर्यावरणमा विद्यमान विषालु पदार्थले मानव प्रजनन क्षमतामा असर त पुर्‍याइरहेको छैन ?

पुरुषहरुमा घट्दो प्रजनन क्षमता
एक वर्षसम्म नियमित शारीरिक सम्बन्ध राख्दा पनि गर्भधारण भएन भने बाँझोपनको आशंका गरिन्छ । यस्तो स्थितिमा चिकित्सकले महिला-पुरुष दुवैको स्वास्थ अवस्था बुझ्छन् । जाँचका क्रममा पुरुषको हकमा प्रजनन क्षमता मूल्यांकनको प्रमुख आधार वीर्यको विश्लेषण नै हुन्छ र शुक्राणुको जाँच अनेक विधिले गर्ने गरिन्छ ।

शुक्राणुको संख्या : पुरुषमा उत्पन्न शुक्राणुको कुल संख्या र शुक्राणु साद्रता अर्थात प्रतिमिलिलिटर वीर्यमा शुक्राणुको संख्या- आम रुपमा पुरुष पक्षमा सबैभन्दा पहिले हेरिने- जाँचिने कुरा हुन् । यद्यपि यो पुरुषको प्रजनन क्षमता जाँच्ने सटिक मानक भने होइन । योभन्दा राम्रो जाँच विधि गतिशील शुक्राणुको परिमाण पत्ता लगाउनु हो जसअन्तर्गत तैरिन र हिँड्न सक्षम शुक्राणुको मूल्यांकन गरिन्छ ।

पुरुष प्रजनन क्षमतालाई प्रभावित गर्ने कैयन् कारक
मोटोपनदेखि लिएर हार्मोनको असन्तुलन अनि अणुवंशिक बिमारीसम्मले पुरुष प्रजनन क्षमतालाई दुष्प्रभावित गरेको हुनसक्छ । यस्तो अवस्थामा चिकित्सकीय इलाजबाट समस्या समाधान हुन्छ । तर अर्कातिर १९९० को दशकको सुरुवाततिरै अनुसन्धानकर्ताहरुले एउटा चिन्ताजनक प्रवृत्तिको संकेत पाए । त्यो के थियो भने कैयन् जोखिम र कारक तत्त्वलाई नियन्त्रित गरे पनि पुरुषको प्रजनन क्षमता लगातार घटिरहेको थियो । अहिलेसम्मका विभिन्न अध्ययनबाट के निष्कर्ष निकालिएको छ भने तुलनात्मक रुपमा हिजोभन्दा आज पुरुषहरुमा कम शुक्राणु बनिरहेको छ र ती शुक्राणु कम स्वस्थकर पनि छन । अब प्रश्न उठछ के-कस्ता कारणले पुरुषको सन्तान उत्पादन क्षमता दुस्प्रभावित भइरहेको छ त ?

विषालु पर्यावरण र प्रजनन
वैज्ञानिकहरु पहिलेदेखि नै पर्यावरणीय विषाक्तताका कारण मानव हार्मोनको सन्तुलन बिग्रन्छ र त्यसले प्रजनन क्षमतालाई प्रभावित तुल्याउँछ भन्ने कुराको जानकार थिए । जनावरमा त यसको नकारात्मक असर छँदै थियो मानिसमा पनि त्यस्तो असर जाँच्ने प्रयास गरियो । यसका लागि केही प्रयोग पनि गरिए भने अनुसन्धानकर्ताहरुले वातावरणमा भएका खतरनाक रसायनहरु पनि पत्ता लगाउन थाले । यद्यपि उनीहरुले त्यस्तो कुनै खास रसायनलाई इंगित भने गर्न सकेनन् तर पुरुष प्रजननलाई दुस्प्रभावित गर्ने अनेकन रसायनहरु फेला पर्दै गए ।

अनुसन्धानबाट के थाहा लाग्यो भने प्लासिटिसाइजर (ज्यादातर प्लास्टिकमा पाइने) का साथै कीटनाशक, भारी धातु, विषालु ग्यास तथा अन्य सिन्थेटिक सामग्रीमा पुरुष प्रजननलाई दुष्प्रभावित गर्नसक्ने खतरनाक रसायन हुन्छ । त्यसका अतिरिक्त वायु प्रदूषणका लागि जिम्मेवार अति सूक्ष्म कण, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडका साथै अन्य पदार्थका कारण पनि शुक्राणुको गुणस्तर प्रभावित हुन्छ ।

रसायनको अनियन्त्रित प्रयोग
आज संसारमा कति किसिमका र के-कस्ता रसायन प्रयोग भइरहेको छ भन्ने यथार्थ विवरण पत्ता लगाउन पनि मुस्किल छ । ती रसायनहरु सामान्य जाँचपछि नै बजारमा पठाइन्छ र हानिकारक साबित भए मात्र फिर्ता गरिन्छ । यो प्रक्रियामा दशकौं गुज्रन सक्छ । अनुसन्धानकर्ता यसलाई चिन्ताको विषय मान्छन् र पुरुषको प्रजनन स्वास्थ्यमा थप जागरुकता आवश्यक भएको बताउँछन् ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका समाचार/लेखहरुमा आधारित)

प्रतिक्रिया