बुधबार, माघ २, २०८१

ढलमै भाइरस भेटिनु समुदायस्तरमा संक्रमण फैलिएको संकेत

नेपालखोज २०७७ असार २१ गते २१:२१

काठमाडौँ । पछिल्लो समय ठुलो जनसंख्या रहेको राजधानी काठमाडौँमा कोरोना संक्रमणदर उच्च बन्दै गइरहेको छ । संक्रमणको जोखिम कम रहेको भन्दै असार १ गतेदेखि लकडाउन केही खुकुलो पारिएको काठमाडौँमा पछिल्लो केही दिनयता लगातार संक्रमण बढिरहेको छ ।

Advertisement

ट्राभल हिस्ट्री नभएका विभिन्न फरक ठाँउका व्यक्तिहरुमा पनि संक्रमण देखिएपछि समुदाय स्तरमै संक्रमण फैलिसकेको आंकलन गर्दै कोरोना भाइरसले महामारीको रुप लिने चिन्ता बढेको छ । पछिल्लो एक अध्ययनमा राजधानीको विभिन्न ठाँउमा गरिएको ढलमा पनि कोरोना भाइरस फेला परेको भनिएको छ । ढलमै भाइरस भेटिनु भनेको संक्रमण समुदाय स्तरमा फैलिएको हुनसक्ने संकेत रहेको अध्ययनमा संलग्न नेपालका जनस्वास्थ्य वैज्ञानिक समिरमणी दिक्षितले बताएका छन् ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ढलको पानीमा देखिएको कोरोना भाइरसले मान्छेलाई संक्रमित बनाउन नसक्ने बताएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ढलको पानीमा देखिएको कोरोना भाइरसले रोग सार्ने भन्ने अहिलेसम्म पुष्टि नभएको बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक बासुदेव पाण्डेले ढलमा भाइरस भेटिएकोबारे भने तत्काल केही भन्न नसकिने भन्दै यसबारे थप अनुसन्धान गरिने बताएका छन् । उनले राजधानीमा संक्रमित संख्या दिनदिनै बढ्दै गएको भए पनि अहिले नै समुदायमा संक्रमण फैलियो भनेर भन्न नमिल्ने बताए ।

राजधानीमा देखिएका संक्रमितमध्ये करिब २५ जनाको मात्रै ट्राभल हिस्ट्री नदेखिएको र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन कार्य भइरहेको भन्दै उनीहरुको रिपोर्ट आएपछि मात्रै संक्रमण समुदायमा छ÷छैन भन्ने टुंगो लाग्ने महानिर्देशक पाण्डेको भनाई छ ।

परिक्षण नै नगरी समुदायमा संक्रमण छैन भनेर बस्न नमिल्ने जनस्वास्थ्य बैज्ञानिक समिरमणी दिक्षितको तर्क छ । परिक्षणको दायरा बढाई परिक्षण गर्न चाहने जो कोहीले पनि परिक्षण गर्ने वातावरण बने मात्रै संक्रमितलाई छुट्टै राखी संक्रमण फैलन रोक्न सकिने भन्दै नागरिकहरु पनि सचेत रहन उनले आग्रह गरेका छन् ।

उसो त देशभरी नै कोरोना संक्रमण बढिरहेको छ । लकडाउनको समयमा गाउँघर फर्किएका नागरिक काठमाडौँमा लकडाउन केहि खुकुलो भएसंगै राजधानी फर्किरहेका छन् । ठुलो जनसंख्याको बसोबास रहेको राजधानीमा पनि कोरोना संक्रमण समुदायमा फैलिए महामारीको रुप लिने र नियन्त्रण गर्न कठीन हुने धेरैको आंकलन छ । त्यसैले आम नागरिक पनि अझ सचेत र सजग हुनुपर्ने बेला आएको छ । यो अवस्थामा कोरोना संक्रमण हुन्छ भन्ने त्रासमा मात्रै नपरी अव आत्मबल बलियो बनाइ संक्रमण आफुलाई सर्न नदिन स्वास्थ्य सुरक्षात्मक उपाय अपनाउन जरुरी देखिन्छ ।

 

प्रतिक्रिया