चिसोका कारण सलहको शक्ति कमजोर बन्दै

नेपालखोज २०७७ साउन ११ गते ६:१३

काठमाडौं । नेपालमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै सलहको शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वरेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीकाअनुसार पहिले आएका झुण्ड मुस्ताङ, म्याग्दी बाग्लुङ, जाजरकोटतिर फाट्टाफुट्ट देखिएको छ । भएका सलह उत्तर लाग्दै छन् ।

चिसो लेकतर्फ गएकाले अहिले नोक्सान गर्ने हिसाबका छैनन् । “मुस्ताङमा पुगेको सलह रुखमा पनि राम्ररी बस्न नसक्ने अवस्थामा पुगेको छ, फेदमा बल्लबल्ल बसिरहेको छ, कमजोर हुँदै गएको छ, चिसोले राम्ररी खान सकेको छैन, भएका पनि लेकतर्फ गइरहेको छ”, सुवेदीले भने, “जति लेक जान्छ त्यति मर्दै र कमजोर बन्दै जाने हो ।”

उनकाअनुसार उत्तरबाट हावा लागेको भए पुनः फर्किन सक्थ्यो । अहिले हावा पूर्वबाट पश्चिम उत्तरतिर गइरहेको छ । त्यसैले फर्किने सम्भावना कम छ ।

नेपालमा असार १३ गते रौतहटबाट पहिलो पटक सलह प्रवेश गरेको थियो । असार १६ गतेसम्म विभिन्न जिल्लामा प्रवेश गरेर केही क्षति पुर्‍याएको थियो । असार २८ मा दाङलगायत केही जिल्लाबाट नेपाल आएको थियो । साउन १ गते नेपालगञ्ज र महेन्द्रनगरबाट छिरेको थियो । त्यसपछि नयाँ झुण्ड आएको छैन ।

सीमा क्षेत्रमा पनि अहिले कम मात्रै सलह रहेको केन्द्रले जनाएको छ । अहिले भारतको राजस्थानमा ठूला आठरदश झुण्ड रहेको किटविज्ञले बताएका छन् । ती झुण्ड अण्डा बनाउने र बच्चा कोरल्ने क्रममा छ ।

हावाको गति अनुकूल भए त्यहाँबाट झुण्ड आउनसक्ने सम्भावना भएपनि तत्कालै भने नआउने बताइएको छ । मुलुकमा ५४ जिल्लामा सलह पुगेको थियो । करिब करिब २७ जिल्लामा सक्रिय देखिएको थियो । अहिले पनि केही विखण्डित झुण्ड पाँचरछ जिल्लामा देखिँदै आएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया