काँग्रेसमा अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गरिँदै
काठमाडौं । नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लङ्गन गर्ने अधिकांशलाई कारवाही गरेको छ ।
समितिमा स्थानीय, प्रदेश एवं सङ्घीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी नगर वडासमिति, साविकको गाविस वा गाउँपालिका कार्यसमिति, नगर कार्यसमिति तथा साविकको क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका र सम्बन्धित उम्मेदवारको समेत गरी एक हजार २५० उजूरी परेका थिए ।
सो उजूरीमध्ये छानबिन गरी अधिकांशलाई विधानअनुसार कारवाही गरिएको समिति सदस्य धनराज गुरुङले जानकारी दिनु भयो । हिजो बसेको समिति बैठकले तनहुँ निवासी पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया