प्रधानन्यायाधीशविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउन स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियन्ता तथा अधिवक्ता स्वागत नेपालको समूहले पहल सुरु गरेको छ । उनीहरुले प्रतिनिधिसभा सभामुखको कार्यालयलगायत सम्पूर्ण दलका संसदीय दलको कार्यालयमा ज्ञापनपत्र दर्ता पनि गराइसकेका छन् ।
सोमबार प्रतिनिधसभाका सभामुखको कार्यालयमा समेत जनताको तर्फबाट प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव सम्वन्धमा छलफल गरी पास गरियोस भन्ने निवेदन दर्ता गरेको अभियन्ता नेपालले जानकारी दिए ।
यसै सन्दर्भमा अभियन्ता नेपालले पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीशले न्याय रक्षा गर्नुपर्ने ठाउँमा अन्याय गरी जानिबुझी फैसला गरेको, साविक मुलुकी ऐन १८८ भवितव्यमा मात्र प्रयोग हुने भन्दै तत्कालै उठेको रिसमा गरिने हत्यामा प्रयोग गरी आफ्नो सहजताअनुसार फैसला गरेको आरोप लगाए ।
कार्यक्रममा नेपालले भने, ‘प्रधानन्यायाधीशले गरेको रञ्जन कोइरालाको मुद्धाको फैसलाले उहाँको कार्यसम्पादनको कमी देखियो, । २० वर्ष कटेकालाई पनि नावालक भनेर फैसला गर्नुभयो । उहाँमा सिद्धान्तको राम्रो ज्ञान नभएको, कार्यक्षमताको अभाव तथा पदीय दायित्व नभएको पाइयो । आवेश पेरित हत्या साविक मुलुकी ऐन १८८ अन्तर्गत पर्दैन ।’
उनले थपे, ’यो घटना इतिहासमै पहिलोपटक जनताको तर्फबाट अविश्वासको प्रस्ताव दर्ता भएको पहिलो घटना बनेको छ । यो अभियानमा सवै दलका नेताहरुले समेत समर्थन गरेका छन् । यो महाभियोग प्रस्ताव प्रतिनिधिसभा, नेपाली कांग्रेसको संसदीय दल तथा सुवास चन्द्र नेम्वाङको कार्यालयमा दर्ता भएको छ ।’


प्रतिक्रिया