आज अन्तर्राष्ट्रिय बाघ दिवस
काठमाडौं । आज जुलाई २९ अर्थात अन्तर्राष्ट्रिय बाघ दिवस । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर विश्वभर मनाइन्छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले दिवसको घोषणा गरेको थियो । सो मञ्च विश्वको पहिलो बाघ सम्मेलन थियो । रुसका तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको थियो । त्यस यतादेखि हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो ।
यस दिन बाघको संरक्षणार्थ उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
कुनै समय जताततै पाइने बाघलाई अहिले लोपोन्मुख प्राणीको सूचिमा राख्ने गरिएको छ । २० औँ शताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या १,००,००० रहेकोमा यो संख्यामा ९०५ प्रतिशत ह्रास आई अहिले ३,२०० मा झरेको तथ्यांकले देखाउँछ । यिनीहरुको संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फँडानीले गर्दा बासस्थलको कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो ।
तर, नेपालमा भने घाँसे मैदान, पानी र वासस्थानको व्यवस्थापन गरेपछि पछिल्ला वर्षहरूमा बाघको सङ्ख्या बढ्दै गएको पाइन्छ । नेपालमा २०१९ को आँकडाअनुसार कुल २३५ बाघ छन् । जसममा चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ बाघ छन् ।
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रुपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रुपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य श्रृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारण शाकाहारी जनावरलाई नियन्त्रणमा राखी वातावरण संतुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।
बाघ (Panthera tigris ) फेलिडी (Felidae) परिवारको प्यान्थरा (Panthera) वर्ग अन्तर्गत पर्ने “ठुलो बिरालो“ (Big cats) समुहको सबैभन्दा ठूलो र शक्तिशाली जङ्गली जनावर हो ।
करिब ३.३ मिटर (११ फिट) लामो शरीर, ३०० किलोग्राम (६६० पाउन्ड) तौल र ४ इन्च सम्म लामा तीखा कुकुरदाँत हुने यो जनावर एक भयानक हिंस्रक मांशहारी जनावर हो । विशाल काया र शक्तिका अलावा बाघहरू सेतो वा गाढा सुन्तला रंगको भुत्लाले ढाकेको शरीरमा हुने काला पाटाहरूका कारण पनि हेर्न लायकका हुन्छन् ।
बाघको छाला एकदमै आकर्षक हुने भएकोले यसलाई सजावटको सामाग्रिको रूपमा प्रयोग गरिन्छ । यही आकर्षणका कारण पनि छाला र भुत्लाका लागि बाघको चोरी शिकारी बढिरहेको छ ।
जङ्गली अवस्थामा रहेका बाघहरू १० देखि १५ बर्षसम्म बाँच्ने गर्दछन् भने खोरमा थुनेर पालिएका बाघहरू २० बर्षसम्म पनि जीवित रहने गर्दछन् । एकदमै उच्च वातावरणीय अनुकुलन क्षमता भएको यो जनावर साइबेरीयाको चिसो वातावरणदेखि खुल्ला घाँसे मैदान र उष्ण सदाबहार भूभागहरूमासमेत रैथाने जनावरका रूपमा पाइन्छन् ।
बाघहरू साम्राज्यवादी र साधारणतया एक्लै बस्न रुचाउने जनावर हो । आफ्नो शिकार आवश्यकतालाई पुरागर्न यिनीहरूले तुलनात्मकरूपमा ठूलो क्षेत्र ओगटेका हुन्छन् । वातावरणीय सन्तुलन जंगली जनावरको लागि मात्र नभएर स्थानीयदेखि विश्वभरका मानिसहरुका लागि बाघ उत्तिकै महत्वपूर्ण छ ।

प्रतिक्रिया