शनिबार, वैशाख १५, २०८१

नेकपाभित्र पदलोलुपताका लागि लडाइँ जारी

नेपालखोज २०७७ साउन १९ गते १६:१३

मुलुक कोभिड-१९ को महामारीमा जकडिएको छ । लामो समय सरकारले लगाएको लकडाउनका कारण उद्योग व्यवसाय तङ्ग्रिँदै गरेको देखिन्छ । यही बेला प्रकृतिले पनि आफ्नौ हैकम जमाउँदै बाढी र पहिरो देखाएर सयौं नेपालीको ज्यान लिईसकेको छ । यस्तो विषम परिस्थितिमा आम नागरिकहरुको सुरक्षाको जिम्मेवारी लिनुपर्ने साम्यवादी दुई तिहाईको सरकार भने बागबण्डामा रमाईरहेको देखिन्छ ।

अहिले नेपालको राजनीति र नेकपाभित्र देखिएको पद लोलुपतालाई हेर्ने हो भने कोरोना भाईरसभन्दा खतरनाक रोग सल्किएको छ । जसले लिपुलेकको चर्चा चलाएर कुर्सीको लडाइँ शुरु गरेको छ । आम नागरिकहरुलाई लकडाउनमा सडाएर जवजस्ती कर असुली रहेको छ । अनि बाढी पहिरोमा परेका जनतालाई राहत होइन हेलिकप्टरबाट शयर गर्दै पिकनिक मनाईरहेको छ । सत्ता र शक्तिका लागि जस्तो सुकै हतकण्डा अपनाउन बाहिर नेकपाका दुई सिंहहरुले करीव दुई तिहाइको जनमत पाउँदा पनि देशको मुहार फेर्ने काम गर्न सकेनन् । बरु जनतालाई कसरी लुट मच्चाने भन्नेमा नै तल्लीन देखिएको छ । गाईनेले लुट न सके लुट कान्छा भन्दा बौलाएर हिँड्ने यिनका अरिंंगालहरु कोरोनाको औषधी खरिद प्रकरणमा अर्बाैं लुट हुँदा पनि मौन बसेर आफ्नो टाउकेहरुलाई सत्ताको भागबण्डाका लागि हरदिन सहयोग गरिरहेका छन् । हुन त बामपन्थी र हामपन्थी एउटै हुन् भन्ने समाजवादका दुहाई दिनेहरुलाई अहिले खुच्चिङ भन्ने मौका मिलेको छ ।

खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एकबाट गलहत्याउने योजना बुन्दै मौन बसिरहेका पुष्पकमल दाहाल ‘हिस्स बुढी खिस्स दाँत’ भने जस्तै बन्नु परेको छ । पछिल्लो समय नेकपा भित्रको झगडा न त कुनै सिद्धान्तका लागि भएको हो न त राष्ट्रियता जोगाउने पक्षमा भएको हो । यी दुई सत्ताका सिंहहरुको लडाइँ त केवल तँ शक्तिवान् की म शक्तिवान बन्ने भन्नका लागि मात्र हो । राष्ट्र संकटमा परेका बेला समस्या समाधान गर्न खटिनु पर्ने जनताका प्रतिनिधि भनाउँदाहरु पदका लागि लडिरहँदा नेपालमा लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि लड्ने शहिदहरु मज्जाले हाँसिरहेका होलान् । हो, नेपालमा ऐतिहासिक रुपमा कम्यूनिष्टले करीव दुई तिहाईको जनमत पाएको छ र सत्ता सम्हालिरहेको छ । तर, विचरा कम्युनिष्टका नेताहरु कमाउनिष्ट भएपछि सिद्धान्तको होइन शक्ति र पदको युद्व जारी छ । जनता भोकै परुन्, चाहे कोरोनाले मरुन् चाहे बाढी र पहिराेले मरुन् सत्ताको युद्वमा होमिएकाहरुले चाँडै जितुन्।

प्रतिक्रिया